logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • नेपालगञ्ज उपमहानगरले ल्यायो १ अर्ब ७६ करोडको बजेट

    नेपालगञ्ज उपमहानगरले ल्यायो १ अर्ब ७६ करोडको बजेट

    182
    SHARES
    नेपालगञ्ज उपमहानगरले ल्यायो १ अर्ब ७६ करोडको बजेट

    काठमाण्डौ । नेपालगञ्ज उपमहानगरपालिकाले कृषि उत्पादन वृद्धि, धार्मिक पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७६ करोड ६४ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाको १९औँ नगरसभामा नगर प्रमुख प्रशान्त विष्टले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन्। उपमहानगरपालिकामा उपप्रमुखको पद रिक्त रहेकाले प्रमुख विष्टले नै बजेट प्रस्तुत गरेका थिए।



    नीति तथा कार्यक्रममा प्रसिद्ध बागेश्वरी मन्दिर, निर्माणाधीन १०८ फिटे हनुमान मूर्तिलगायत धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकता दिइएको छ। धार्मिक पर्यटन विस्तारका लागि भारतको अयोध्या नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पहल गरिने उल्लेख गरिएको छ। त्यस्तै कान्ति ताल, वाटरपार्क, रानी तलाउ, फुटाहा ताल तथा धोबीघाटको संरक्षण र स्तरोन्नतिका कार्यक्रमसमेत बजेटमा समावेश गरिएको छ।

    कृषि क्षेत्रलाई व्यावसायिक र आत्मनिर्भर बनाउन सिँचाइ सुविधा विस्तार, उन्नत बीउ तथा मलको सहज उपलब्धता सुनिश्चित गर्ने, कृषि उत्पादनको बजारीकरणका लागि व्यवस्थित तरकारी तथा फलफूल बिक्री केन्द्र स्थापना गर्ने नीति लिइएको छ। साथै पुष्पखेती, सामूहिक खेती तथा लिज खेतीलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ।

    बजेटमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र नक्साङ्कन कार्यलाई निरन्तरता दिने योजना समावेश गरिएको छ। नेपालगञ्जलाई शैक्षिक हबका रूपमा विकास गर्न नगर शिक्षा योजना अद्यावधिक, स्थानीय पाठ्यक्रम परिमार्जन तथा विद्यालय अनुगमनलाई प्रभावकारी बनाउने नीति पनि समेटिएको छ।

    यसका अतिरिक्त उद्योग, व्यापार, श्रम तथा रोजगारी, स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका, सामाजिक समावेशीकरण, आवास, भौतिक पूर्वाधार, ऊर्जा, विपद् व्यवस्थापन, जलवायु परिवर्तन, सुशासन, सेवा प्रवाह तथा राजस्व परिचालनका कार्यक्रमलाई पनि बजेटले प्राथमिकता दिएको छ। नगर प्रमुख विष्टले आगामी आर्थिक वर्षमा विकास निर्माणसँगै कृषि उत्पादन, पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधिलाई थप गतिशील बनाउने लक्ष्यसहित बजेट ल्याइएको बताए।


    अर्थ चाैतारी
  • बुधबार, १० असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट