काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई मर्ज गर्ने भएको छ। यसका लागि दुवै बैंकले अनौपचारिक रुपमा सहमति गरेर आ–आफ्नो तर्फबाट प्रक्रिया अघि बढाइसकेको श्रोतले बताएको छ। मर्जरको लागि दुवै बैंकले मर्जर समिति गठन समेत गरिसकेका छन्।
नबिल बैंकले सञ्चालक उदयकृष्ण उपाध्यायको संयोजकत्वमा यसअघि गठन भएको मर्जर समितिलाई नै उक्त जिम्मेवारी दिएको बैंकको श्रोतले जानकारी दिएको छ। नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई मर्जर गर्ने भन्दा पनि प्राप्ति गर्ने प्रक्रियामा लागेको देखिन्छ। नबिल र नेपाल बंगलादेश बैंक मर्जर तथा प्राप्तिमा जाने भन्ने हल्ला धेरै समय अगाडिबाट नै चल्दै आएको थियो। जसको कारण नेपाल बंगलादेशको सेयर मूल्य पटक पटक घटबढ् हुने गरेको पनि थियो।
कुनै पनि बैंक मर्जर हुनका लागि त्यसको सेयर मिलान अनुपात (स्वाप रेसियो) को विषयमा कुरा मिल्न पहिलो आवश्यकता रहेको हुन्छ। यसअघि सोही कुरा नमिल्दा बैंकको मर्जरको प्रक्रिया अगाडि बढ्न नसकेको चर्चामा आएको थियो। यी दुवै बैंकबीच अहिले ती विषयमा कुरा मिलिसकेकाले औपचारिक रुपमा दुवै संस्थाले प्रक्रिया अघि बढाएका हुन्।
स्रोतका अनुसार नेपाल बंगलादेश बैंकको प्रमुख सेयरधनी बंगलादेशको आईएफआईसी बैंकले उक्त सेयर बिक्री गरेर बाहिरिन लागेको छ। नेपाल बंगलादेश बैंकमा आईएफआईसी बैंकको ४० प्रतिशत (तीन करोड ६८ लाख २७ हजार ४२६ कित्ता) सेयर रहेको छ।
© 2025: मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times