काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको आईपीओमा आवेदन दिने आज जेठ ४ गते अन्तिम दिन रहेको छ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि गत वैशाख २८ गतेदेखि आईपीओ निष्कासन गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।
कम्पनीले १०० अंकित दरका कुल २७ लाख ३० हजार कित्ता आईपीओ जारी गरेको हो। कुल कित्तामध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ। बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणले आवेदन दिन पाउनेछ।
यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउनेछ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट दिन सकिनेछ। सीडीएससीको ‘मेरो सेयर’ बाट पनि आवेदन दिन सकिनेछ।
सीडीएससीका अनुसार मंगलबार साँझ ५ बजेसम्म यो आईपीओमा १५ लाख १७ हजार २८ आवेदकबाट १ करोड ७५ लाख ९२ हजार ९२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ६.९३ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परिसकेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। गोलाप्रथाबाट २ लाख ५३ हजार ८९० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत चैत १० गते निष्कासन अनुमति दिएको थियो।
अर्थ चाैतारी ।