काठमाण्डौ। कोरियाली पक्षसँग लगातार गरेको पहलपछि कोरिया भाषा परीक्षालाई लिएर उत्पन्न भएको विवादको समाधान भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले कोरियाली पक्षसँग लगातार गरेको पहल सफल भएको बताएका छन् ।
महानिर्देशक घिमिरेले यस सम्वन्धमा कोरियाली दूतावाससँग लगातार पहल गरिरहेका थिए । भाषा परीक्षा लिने कोरियाको मानव संसाधन विकास सेवा (एचआरडी) का निमित्त प्रमुखसँग आज महानिर्देशक घिमिरेले यस सम्वन्धमा वैठक राखेका थिए । उक्त वैठकमा सहमति जुटेको छ ।
अब नेपाली युवाको माग र अदालतको आदेश बमोजिम इपीएसका लागि आवेदन गर्ने सबै परीक्षार्थीले परीक्षा दिन पाउने भएका छन् । ईपीएस कार्यालयले सबै परीक्षार्थीको आवेदन स्वीकार गरेको छ ।
सबै परीक्षार्थीहरुलाई तीन पटकमा विभाजन गरेर परीक्षा दिन लगाउने सहमति भएको घिमिरेले बताए । जसअनुसार पहिलो पटकमा आउँदो जनवरी २० मा ४७ हजारको परीक्षा लिइने छ । दोस्रो पटकमा ८० हजार र तेस्रो पटकमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिन पाउने भएको घिमिरेले जानकारी दिए । दोस्रो र तेस्रो पटकको परीक्षाको मिति तय हुन भने बाकीँ रहेको उनको भनाई छ ।
कोरियाले यसअघि कृषि तथा उत्पादनमूलक क्षेत्रका लागि परीक्षा लिने गरेकोमा यसपाली सिप बिल्डिङ परीक्षा पनि लिएको थियो । इपीएस कार्यालय नेपालले सुरुमै सीपबिल्डिङ परीक्षा दिनेले यसै वर्ष हुने अर्को इपीएस परीक्षामा सामेल हुन नपाउने सूचना निकाल्यो । त्यसको विरोधमा सीप बिल्डिङमा फेल भएका युवाहरुले आन्दोलत बनेका थिए ।
अर्थ चाैतारी ।