logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • पर्यटन क्षेत्रको अवस्था, चुनौती र अबको बाटो

    पर्यटन क्षेत्रको अवस्था, चुनौती र अबको बाटो

    2K
    SHARES
    पर्यटन क्षेत्रको अवस्था, चुनौती र अबको बाटो

    दीपकराज जाेशी,
    कार्यकारी निर्देशक, नेपाल पर्यटन बाेर्ड



    अहिले नेपालको पर्यटन क्षेत्रको चलायमान कोरोना महामारीको अवस्थाभन्दा अगाडि पुग्न सकेका छैन । विश्वव्यापी रूपमा पर्यटन क्षेत्रमा ९५ प्रतिशत ‘रिकभरी’ भए पनि सन् २०२३ मा नेपालको रिकभरी ८४ प्रतिशत छ । यसले विश्वको रिकभरी दरभन्दा नेपालको केही कम रहेको देखाउँछ ।

    कोभिडभन्दा अगाडि नेपालको पहिलो पर्यटन बजार भारत थियो । त्यसपछि क्रमशः चीन, अमेरिकालगायत देश थिए । तर, कोरोनापछि पहिलो स्रोत बजार भारत भएको छ । दोस्रोमा अमेरिका छ । चीन हाम्रो छिमेकीसँगै संसारकै ‘लार्जेस्ट आउट बाउन्ड मार्केट’ हुँदाहुँदै पनि पूर्ण रूपले रिकभरी हुन सकिरहेको छैन ।

    करिब १० लाख जनशक्तिलाई प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा नेपालको पर्यटन क्षेत्रले रोजगारी दिएको छ । विदेशी मुद्रा कमाइमा आज पनि महत्त्वपूर्ण क्षेत्रका रूपमा पर्यटन छ । राज्यले पनि बिस्तारै पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्न थालेको छ । विभिन्न राजनीतिक पार्टी, प्रशासनिक संयन्त्रलगायत राज्यका सबै सरोकारवालाले पर्यटनलाई आफ्नो प्राथमिकतामा राखेका छन् । दिगो विकासको सशक्त क्षेत्रका रूपमा पर्यटनलाई मान्न थालिएको छ ।

    अहिले पर्यटन क्षेत्रको विकासका लागि सबैभन्दा ठुलो चुनौती पूर्वाधारको छ । सबै भरोसायोग्य एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । दुई वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनको चरणमा पुगे पनि विश्वसनीयता हात लागिसकेको छैन । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरास्थित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन नहुँदासम्म प्रश्नको घेरामा रहिरहन्छ । अहिले पर्यटनलाई मुख्य गन्तव्यमा जोड्ने प्रयास सडक यातायातमार्फत भइरहेको छ । तर, सडक यातायातको बाटो राम्रो छैन ।

     

    अहिले पर्यटन क्षेत्रमा संग्लन धेरैजसो जनशक्ति (जो लामो समयदेखिको अनुभव प्राप्त दक्ष जनशक्ति) विदेश पलायन भएका छन् ।
    नेपालको पर्यटन क्षेत्र बलियो सम्भाव्यता बोकेको क्षेत्र हो । पाँच वटा क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्ने हो भने अबको केही वर्षभित्रै नेपालको समृद्धिमा योगदान दिन सक्ने क्षेत्रका रूपमा पर्यटनलाई राख्न सकिन्छ । यसका लागि सबैभन्दा पहिले हामीले एभिएसन क्षेत्र (हवाई उडान) को विस्तार गर्नुपर्छ । नेपाल भूपरिवेष्ठित मुलुक भएकाले हवाई उडानको विस्तार र पहुँच बढाउनुपर्छ । त्यसका लागि हामीले तीन छुट्टा–छुट्टै पाटोमा काम गर्नुपर्ने हुन्छ ।

     

    युरोपियन देश जहाँबाट हाम्रो ‘भ्यालु बेस’ पर्यटकहरू आउँछन् त्यहाँ नेपालको पहुँच पुग्न सकेको छैन । युरोपियन देशबाट विगत १३÷१४ वर्षदेखि भ्यालु बेस पर्यटकहरू नेपाल आउने गरेका हुन् । त्यस्ता ठाउँमा नेपालको प्रत्यक्ष पहुँच÷संलग्नता कायम राख्न युरोपसँग सिधा हवाई सम्पर्क हुनुपर्छ । त्यसले मात्र राम्रो भ्यालु पाउन सकिन्छ । दोस्रो, बनेका नयाँ दुई वटा विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्छ । त्यसका लागि दुवै विमानस्थलको बजारीकरण गर्नुपर्छ तर, त्यो भएको देखिँदैन । यद्यपि विमानस्थलको प्रचारमा सरकारले केही सहुलियतसमेत घोषणा गरेको छ । सरकारले दुवै विमानस्थल सञ्चालन गर्न दुई वर्षका लागि ल्याएको आकर्षक प्याकेजबारे सम्बन्धित देशमा बजारीकरण गर्नु आवश्यक छ । सरकारले सम्पूर्ण शक्ति प्रयोग गरेर नवनिर्मित एयरपोर्ट सञ्चालन गर्न सक्ने हो भने नेपालमा थप १५ देखि २० लाख विदेशी पर्यटक भित्र्याउन सकिन्छ ।

    अहिले नेपाल आउन चाहने विदेशी पर्यटकले भनेको समयमा टिकट नै पाउँदैनन् । टिकट पाइहाल्यो भने कल्पना गरेभन्दा बढी मूल्य तिर्नुपर्छ । त्यसका लागि सिधा हवाई सम्पर्क बढाउने र नयाँ विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्छ । राष्ट्रिय ध्वजावाहक बलियो नहुँदासम्म आफ्नो प्राथमिकता भएका क्षेत्रमा बलियो उपस्थिति देखाउनै सकिँदैन । विदेशबाट आउने वायुसेवा कम्पनीहरूले आफूलाई फाइदा हुने क्षेत्रमा मात्र उडान गर्छन् । आजको दिनमा सरकारी ध्वजावाहक नेपाल वायुसेवा निगमको क्षमता विस्तार गर्नुपर्नेछ । १० वटा विमान नेपाल एयरलाइन्ससँग हुने र त्यसको व्यवस्थापन पक्ष बलियो हुने हो भने हाम्रो गन्तव्य अनुसारको माग पूरा गर्न सकिन्छ । अहिले गन्तव्य अनुसारको पहुँच अप्ठ्यारो हुँदा पर्यटक आउन नसकेको स्थिति छ । माग अनुसारको गन्तव्यमा नेपाल एयरलाइन्स पुग्ने हो भने पर्यटक नेपाल भित्र्याउन कठिनाइ हुँदैन ।

    होटेल क्षेत्रको सहजता अहिले राम्रो अवस्थामा छ । होटेलको संख्या, रुम, चेन होटेल तथा स्टार होटेलहरू भित्रने क्रम बढ्दो छ । होटेल सेवामुखी क्षेत्र हो, हामीले सेवा दिन क्षमता बनाउन दक्ष जनशक्ति विकासमा जोड दिनुपर्छ । अब आउने वर्षहरूमा हरेक २० हजार जनशक्तिलाई तालिम दिएर सेवा दिनलायक बनाउन अभियान चलाउने हो भने अवश्य सहज हुन्छ ।

    त्यस्तै, सडक यातायातको अवस्था तत्कालै सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ । अहिले पोखरा, लुम्बिनी, भैरहवालगायत मुख्य पर्यटकीय गन्तव्यमा जाने सडकको अवस्था राम्रो छैन । सरकारले सडक सञ्जाललाई सहज बनाउन उच्च प्राथमिकतामा राखी अवधि तोकेर काम गरेको खण्डमा विश्वास आर्जन गर्न सकिन्छ । अन्तर्राष्ट्रिय स्रोत बजारहरूमा हामीले आक्रामक रूपमा माग सिर्जना गर्न बजारीकरण गर्नुपर्छ । जसका लागि पर्यटन बोर्डको नेतृत्वमा पुराना बजारमा नयाँ सेग्मेन्टमा जान सकिन्छ । जस्तो भारतकै कुरा गर्दा धेरै धार्मिक पर्यटक नेपाल आउँछन् । त्यहाँ हामीले कर्पोरेटलगायत क्षेत्रको बजारीकरण गर्न सकिन्छ । त्यहाँबाट धार्मिक पर्यटक मात्र नभएर अन्य पर्यटकलाई आकर्षण गर्न सकिन्छ ।

    यस्तै बंगलादेशको ढाका बजार । जहाँ एक घण्टाको दूरीमा उडानमार्फत जान–आउन सकिन्छ । एउटै सिटीमा साढे तीन करोड जनशक्ति भएको र त्यहाँको आर्थिक अवस्था पनि राम्रो छ । त्यस्ता ठाउँहरूमा हामीले बजारीकरण गर्नुपर्छ । युरोपमा पहिले हामीले एड्भेन्चर मार्केटिङ मात्र भन्ने गरेका थियौँ । अहिले त्यहाँ आध्यात्मिक, संस्कृति र पुरातात्त्विकमा फोकस गर्न सकिन्छ । यस्तै, नयाँ सेक्टरहरूमा हामीले आक्रामक रूपमा बजारीकरण गर्नु आवश्यकता छ । अहिले हाम्रो मौसम केन्द्रित पर्यटन मात्रै भएको छ । अक्टोबर, नोभेम्बरमा धेरै पर्यटक आउने, फेरि अन्य सिजनमा खासै नआउने प्रवृत्ति छ । १२ महिनै पर्यटक आउने गरी योजना बनाउनुपर्छ । त्यसका लागि कम पर्यटक आउने भनिएका महिनाहरूका लागि विशेष आकर्षण के हुन सक्छन्, त्यसको पहिचान र प्रवर्धन गर्न जरुरी छ । यसमा विभिन्न संयन्त्रको प्रयोग गर्न सकिन्छ । विभिन्न कूटनीतिक नियोग, नेपाललाई मन पराउने विभिन्न निकायलाई परिचालन गरेर बढीभन्दा बढी पर्यटक ल्याउन ध्यान केन्द्रित गर्नुपर्छ ।

    पर्यटन ‘आइसोलेसन’ मा विकास हुने क्षेत्र होइन । आज पनि सडक पूर्वाधारको जिम्मा भौतिक पूर्वाधार मन्त्रालयलाई छ । धेरैभन्दा धेरै विदेशी पर्यटक जाने गरेका विभिन्न पार्क तथा संरक्षित क्षेत्रहरू वन मन्त्रालयअन्तर्गत पर्छ । पर्यटन क्षेत्रमा अनलाइन भिसा, ई–भिसाको धेरै माग भइरहेको छ, त्यो गृह मन्त्रालयले हेर्छ । विभिन्न स्थानमा कूटनीतिक नियोगहरू छन्, जहाँबाट उहाँहरूले विदेशीलाई भिसा दिनुहुन्छ, पर्यटन प्रवर्धनका कार्यक्रमहरू पनि गर्नुहुन्छ, त्यो पर्यटन मन्त्रालयअन्तर्गत छ । यस्ता मुख्य ४÷५ वटा निकायको बिचमा एउटा बलियो र प्रभावकारी संयन्त्र निर्माण गर्न सकिए पर्यटन क्षेत्रमा राम्रो योगदान पुग्न सक्छ । विगत २०÷२५ वर्षलाई हेर्दा हरेक ३÷४ वर्षमा कुनै न कुनै समस्या आएको देखिन्छ । कुनै राजनीतिक, कुनै प्राकृतिक र कुनै महामारीका रूपमा आएको देखिन्छ, त्यस्ता समस्या भविष्यमा नआउने भन्ने होइन, कुनै पनि समयमा फेरि यस्ता खालका समस्या आइपर्न सक्छन् । त्यसैले विभिन्न समयमा विभिन्न किसिमले आइपर्ने समस्या समाधानका लागि पूर्व तयारी गरेर बस्नुपर्छ । तयारी बढाउनुपर्छ ।

    अहिले संसारभर जलवायु परिवर्तनको विषय गम्भीर चासोका रूपमा हेरिएको छ । जलवायु परिवर्तनका विषयमा नेपालले धेरै राम्रो गरेको छ । नेपालले अवलम्बन गरेको अभ्यासलाई बाहिर प्रचारसँगै निरन्तरता पनि दिनुपर्छ । यस्तै, जलवायु परिवर्तनमा परेका असरको न्यूनीकरणका लागि संवेदनशील भएर काम पनि गर्नुपर्छ । विदेशी पर्यटक सँगसँगै पछिल्लो समय आन्तरिक पर्यटकको संख्यामा पनि बढ्न थालेको छ । साँच्चिकै दिगो रूपमा नेपाललाई समृद्धि बनाउने सम्भावना बोकेको, कम लगानीमा बढी प्रतिफल आउन सक्ने, बढीभन्दा बढी जनसङ्ख्यालाई रोजगारका अवसर सिर्जना गर्न सक्ने, वैदेशिक लगानी भित्र्याउन एउटा छुट्टै आकर्षण पैदा गर्ने क्षेत्र पर्यटन नै हो । राज्यका सबै निकायले (केही नीतिगत, केही बोलीका हिसाबले र केही भाषागत रूपमा) प्राथमिकतामा राखेका छन् । तर, सरकारको कार्य योजनाको प्राथमिकतामा नेपालको पर्यटन क्षेत्र पर्नु आवश्यक छ । जति छिटो पर्यटनको महत्त्व बुझेर सरकारी प्राथमिकतामा राख्न सकिन्छ, त्यति नै छिटो हामीले पर्यटनबाट लाभ लिन सकिने अवस्था पनि छ । त्यसैले पर्यटनको महत्त्वलाई नजरअन्दाज नगरी उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने आवश्यकता भने छ ।

    (लेखक नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक हुन भने यो लेख नेपाल आथिक पत्रकार संघको बार्षिक जनरल अर्थचित्रबाट साभार गरिएको हो ।)


    अर्थ चाैतारी
  • विहिबार, ४ पुस २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट