logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

    त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

    598
    SHARES
    त्रिवि उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

    काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । उपकुलपति छनोट सिफारिस समितिले टुंगो लगाएका तीन जनाको नाम प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई बुझाएको हो ।



     

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको समितिको आइतबार बसेको बैठकले तीन जनाको नाम टुङ्गो लगाएको थियो । ती तिन जनाको नाम आज कुलपतिलाई बुझाइएको र चाँडै नै उपकुलपति नियुक्त हुने समिति स्रोतले जनाएको छ । सिफारिसमा को–को परे भन्ने विषय भने गोप्य राखिएको छ ।

     

    त्रिविको उपकुलपतिका लागि १२ जना प्रतिस्पर्धामा थिए । तीमध्ये तीन जनाको नाम छनोट गरिएको हो । कुलपति एवं प्रधानमन्त्री ओलीले जेठ ६ गते सहकुलपति एवं शिक्षामन्त्री पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए । समितिले १२ जनामध्ये पाँच जना प्राध्यापकको नाम पहिलो चरणमा छानेर छलफलपश्चात तीन जनाको नाम सिफारिस गरेको स्रोतको भनाइ छ ।

     

    स्रोतका अनुसार निमित्त उपकुलपति प्राडा खड्ग केसी, प्राडा बिनिल अर्याल, प्राडा योगेन्द्रबहादुर गुरुङ, प्राडा उपेन्द्र कोइराला र प्रा. डिल्ली उप्रेतीमध्ये तीन जनाको नाम फाइनल भएको थियो । उपकुलपति केशरजङ्ग बरालले चैत १५ गते पदबाट राजीनामा दिएपछि नयाँ उपकुलपति नियुक्त हुन सकेको थिएन । हालसम्म केसीले निमित्त उपकुलपतिको जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।

     

    ४ वर्षको कार्यकालका लागि नियुक्त भएका बरालले १३ महिनामै राजीनामा दिएका थिए । कुलपति ओलीले चैत २८ गते बरालको राजीनामा स्वीकृत गरेका थिए । त्यसपछि वैशाख २ गते शिक्षाध्यक्ष केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए ।उपकुलपति रिक्त भएमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी दिन सकिने प्रावधानअनुसार केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।


    अर्थ चाैतारी
  • सोमबार, २३ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट