काठमाण्डौ । पूर्वदेखि पश्चिमसम्म जाने सवारीसाधनले प्रयोग गर्ने सडक हो, नागढुंगा–मुग्लिन खण्ड । यो सडक खण्ड भएर दिनको १२ हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । चाडबाडका बेला त झन् यस खण्डमा सवारी चाप थामिनसक्नु हुन्छ । दसैं आउन पनि धेरै दिन बाँकी छैन, आधा महिनामा घटस्थापना छ ।
चाडबाड नजिकिँदै गर्दा सडकको अवस्था कस्तो छ ? दसैंमा गत वर्षको जस्तै यात्रुले सास्ती खेप्नु त पर्दैन ? नागढुंगा–मुग्लिङ सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझा भन्छन्, ‘समस्या छैन, समस्या भएको खण्डमा कालोपत्र गरिसकेका छौं ।’ अन्यत्र बर्खाका कारण कालोपत्र नभए पनि समस्या भएको खण्डमा कालोपत्रको काम सकिसकेको उनको भनाइ छ ।
‘अहिले नयाँ कालोपत्रको काम भएको छैन,’ ओझाले भने, ‘चाडबाडलाई दृष्टिगत गर्दै भदौ अन्तिमसम्म खाल्डाखुल्डी पुर्ने काम थाल्छौं ।’ कालोपत्रको काम दसैंपछि मात्र सुरु हुन्छ । ‘यो पटक दसैं असोज पहिलो साताबाटै सुरु छ,’ उनले भने, ‘मनसुन दोस्रो सातासम्म सक्रिय हुने पूर्वानुमान छ, त्यसैले दसैंअघि धेरै काम हुँदैन ।’ पहिरोको जोखिम रहेको क्षेत्रमा मेसिनहरू तैनाथ अवस्थामा राखिएको ओझाले जनाए ।
नागढुंगा–मुग्लिन सडकलाई तीन खण्डमा विभाजन गरेर स्तरोन्नति गरिराखिएको छ । तीनमध्ये पहिलो खण्ड नागढुंगा–नौबिसे हो । यो सडक खण्डअन्तर्गतको पहिलो खण्डमा पहिलो तहको कालोपत्रको काम सकिएको आयोजनाले बताएको छ । १२।२६ किलोमिटरको पहिलो खण्डमा नागढुंगा–नौबिसे पर्छ । यही खण्डमा दोस्रो तहको कालोपत्र गर्ने काम पनि ५।५ किमि सकिइसकेको छ । तेस्रो तहको कालोपत्रको काम भने दसैंपछि मात्र हुने प्रमुख ओझाको भनाइ छ ।
नागढुंगा–नौबिसे खण्डको समग्र भौतिक प्रगति ८४ प्रतिशत छ । पहिलो खण्डको स्तरोन्नतिको ठेक्का १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीमा लिएका हुन् । यही खण्डको खानीखोलामा पैदलयात्रीका लागि अपांगमैत्री अकासे पुल बनाइनेछ । त्यो काम यही प्याकेजअन्तर्गत पर्ने र बर्खा लगत्तै काम सुरु हुने उनको भनाइ छ । उनकाअनुसार उक्त खण्डमा अहिले सामान्य कंक्रिट ढलानका काम मात्र भइरहेको छ ।
अर्थ चौतारी ।