logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • यी चारवटा भुक्तानी सेवा प्रणालीमाथि बढ्न सक्छ राष्ट्र बैंकको नियमन

    यी चारवटा भुक्तानी सेवा प्रणालीमाथि बढ्न सक्छ राष्ट्र बैंकको नियमन

    468
    SHARES
    यी चारवटा भुक्तानी सेवा प्रणालीमाथि बढ्न सक्छ राष्ट्र बैंकको नियमन

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्त्वपूर्ण भुक्तानी प्रणाली (एसआइपीएस) पहिचान गर्ने रूपरेखा सार्वजनिक गर्दै भुक्तानी सेवा प्रदायकमाथि नियमन कडाइ गर्ने तयारी गरेको छ। सोमबार सार्वजनिक गरिएको उक्त रूपरेखा अनुसार पाँचवटा मापदण्ड पूरा गर्ने भुक्तानी प्रणालीलाई ‘महत्त्वपूर्ण भुक्तानी प्रणाली’का रूपमा तोकिने छ।



     

    महत्त्वपूर्ण प्रणाली पहिचानको मापदण्डमा ठूला र समय–संवेदनशील भुक्तानीको व्यवस्थापन, वित्तीय बजारका लागि अत्यावश्यक पूर्वाधार, कुल भुक्तानी मूल्यमा अग्रणी, खुद्रा कारोबार वा कारोबार संख्यामा ठूलो हिस्सा, तथा अन्य प्रणालीहरूसँग उच्च अन्तरसम्बन्ध रहेका भुक्तानी सेवा पर्न सक्नेछन्। साथै, राष्ट्र बैंकले आफ्नो परिभाषा र निर्णयअनुसार अन्य कुनै पनि प्रणालीलाई आवश्यक ठाने महत्त्वपूर्ण प्रणालीका रूपमा तोक्न सक्नेछ।

     

     

    राष्ट्र बैंकका अनुसार, यस्तो प्रणाली तोक्नुको मुख्य उद्देश्य सञ्चालनसँग सम्बन्धित जोखिमलाई नियन्त्रणमा राख्ने हो। महत्वपूर्ण भुक्तानी प्रणाली अवरुद्ध हुँदा समग्र वित्तीय बजार वा उपभोक्ता कारोबार नै ठप्प हुने जोखिम हुने भएकाले यसलाई अझ कसिलो नियमनमा ल्याउन लागिएको हो।

     

     

    तोकिने सम्भावित भुक्तानी प्रणालीमध्ये ठूला रकम र समय–संवेदनशील कारोबारका आधारमा नेपाल क्लियरिङ हाउस लिमिटेड (कनेक्ट आइपिएस, कर्पोरेट पे), खुद्रा कारोबारको ठूलो हिस्साका आधारमा फोनपे र इसेवा, र प्रयोगकर्ता संख्याका आधारमा खल्ती डिजिटल वालेट पर्न सक्ने देखिएको छ।

     

     

    रूपरेखाले जोखिम पहिचान, मूल्याङ्कन र न्यूनीकरणलाई प्राथमिकता दिँदै प्रणालीभित्र उत्पन्न हुने सम्भावित कमजोरीलाई अनुगमन र नियन्त्रण गर्ने संयन्त्र विकास गर्ने लक्ष्य राखेको छ। यसले भुक्तानी प्रणालीलाई अवरोध वा वित्तीय तनावका अवस्थामा पनि निरन्तर सञ्चालन गर्न सक्ने क्षमता बढाउने अपेक्षा गरिएको छ।

     

     

    राष्ट्र बैंकका अनुसार, कमजोर रूपमा डिजाइन गरिएका प्रणालीले जोखिम बढाउन, बजारमा अवरोध ल्याउन र अर्थतन्त्रमा विश्वास घटाउन सक्ने भएकाले महत्त्वपूर्ण प्रणालीहरूको सुरक्षा, दक्षता र लचिलोपन सुनिश्चित गर्नु आवश्यक छ।


    अर्थ चौतारी
  • आइतबार, २२ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट