काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भवनहरूको मर्मत तथा पुनर्निर्माणका लागि सरकारले ‘हाम्रा संरचना हामी आफैं बनाऔं’ अभियान सञ्चालन गर्ने भएको छ।
सिंहदरबार परिसरमा क्षति पुगेका संरचनाको स्थलगत निरीक्षण गर्दै मन्त्री कुलमान घिसिङले उक्त योजना सार्वजनिक गरेका हुन्। उनले विनासपछि “हामी उठ्यौं” भन्ने सन्देश दिन सरकारले स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग संकलन गरेर पुनर्निर्माण सुरु गर्ने बताए।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री घिसिङले सहरी विकास मन्त्रालयले क्षतिको मूल्यांकन गर्न कार्यदल गठन गरिसकेको जानकारी पनि दिए।
उनका अनुसार सामान्य क्षति भएका भवनहरूलाई चिटिक्क देखिने गरी बाहिरी भागमा रङरोगन गरिनेछ, आगलागीबाट क्षति भएका सवारी साधन तत्काल हटाइनेछ र पुनर्निर्माणलाई अभियानमार्फत अघि बढाइनेछ।
मन्त्री घिसिङले भने, “कार्यालयलाई थोत्रो देखाएर राख्नु हुँदैन, भित्री काम चलिरहन्छ तर बाहिरी स्वरूप सफा र व्यवस्थित बनाउनैपर्छ। यसबाट हामी उठ्यौं भन्ने सन्देश समाजमा पुग्छ।”
अर्थ चौतारी ।