काठमाण्डौ । वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौं ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात् काठमाण्डौ ल्याइएको हो ।
वर्षातले क्षति गरेको कहीँ ठाउँमा मर्मतपश्चात् अहिले पानी सङ्कलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए । उनले भने, ‘वर्षातले क्षति गरेको ठाउँमा मर्मत गरी र पानीको बहाव कम भएसँगै अहिले हामीले मेलम्चीको पानी काठमाण्डौ ल्याउन सफल भएका छौँ । सुन्दरीजलमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको छ ।’
काठमाण्डौ उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग रहेको छ । मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी मात्रै उपत्यकामा आपूर्ति हुने गरेको थियो । दैनिक १७ करोड लिटरभन्दा बढी मेलम्चीको खानेपानी सुन्दरीजलमा पुगेसँगै काठमाडौं उपत्यकामा उक्त पानी वितरण गर्न सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले बताए ।
उनले भने, ‘मेलम्चीबाट दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइपुगेसँगै हामीले पानी वितरण प्रक्रिया सुरु गरेका छौँ । विगतमा ६ दिनमा एक दिन मात्रै धारामा आउने पानी आजबाट अब तीन तीन दिनको फरकमा प्रत्येक घरका धारामा पानी आउँछ ।’ विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोले आयोजनाको हेडवक्र्स पूर्णरूपले क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी उपत्यकामा वितरण हुँदै आएको छ ।
बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि रिबर्मा खोलाबाट दैनिक रूपमा छ देखि सात करोड लिटर पानी स्थानान्तरण गरेर काठमाडौंमा वितरण भइरहेको कार्यकारी निर्देशक दासले बताए । उनका अनुसार विसं २०७८ चैत १५ गते पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर काठमाडौं उपत्यकामा पानी वितरण थालिएको हो । सोही वर्षको असार र साउनमा मेलम्ची तथा इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्याएपछि काठमाडौंमा हालसम्म बाह्रैमहिना पानी ल्याउन सकिएको छैन । रासस