काठमाण्डौ । यो साता नेपालमा मौसम सक्रिय रहने भएको छ। पश्चिमी वायुको प्रभाव, अरब सागरमा बनेको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा बनेको मोन्था नामको सामुद्रिक आँधीको कारणले नेपालमा वर्षा र हिमपात गराउने भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायूको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले आज कार्तिक १० गते राति देखि कार्तिक १२ गते बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ । साथै, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ ।
बुधबारबाट भने बङ्गालको खाडीमा बनेको मोन्था नामको सामुद्रिक आँधीको प्रभाव नेपालमा देखिने छ । मौसमविदहरुका अनुसार यो आँधीको प्रभावले बुधबारदेखि शनिवारसम्म पूर्वी नेपालमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा यस प्रणालीले वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात गराउने बताईएको छ। धेरै प्रभाव भने कोशी, मधेश र बागमतीमा देखिने छ।