काठमाण्डौ । सरकारले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणका लागि नयाँ शुल्क व्यवस्था गरेको छ।
छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली २०८२ अनुसार अब अनलाइन सञ्चारमाध्यम दर्ता गर्दा ५ हजार रुपैयाँ दस्तुर तिर्नुपर्नेछ भने नवीकरण गर्दा २ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ। सरकारले यो व्यवस्था १३ कात्तिकमा राजपत्रमा प्रकाशित सूचना मार्फत लागू गरेको हो।
सरकारले गत ९ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने कार्य सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई तोक्ने निर्णय गरेको थियो। यसअघि, केपी शर्मा ओली नेतृत्वको सरकारले गत २१ साउनमा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण कार्य स्थगित गरेको थियो।
हालको निर्णयअनुसार अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको प्रक्रिया पुनः सूचना तथा प्रसारण विभागबाटै सञ्चालन हुने भएको छ। यससँगै दर्ता र नवीकरणका लागि निश्चित शुल्क पनि लागू गरिएको छ।