काठमाण्डौ । देशको हालको आर्थिक अवस्था, लगानीकर्ताको मनोबल, र जेनजी आन्दोलनपश्चात सिर्जित वातावरणका विषयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र पूर्व अर्थमन्त्रीहरूको फोरमबीच शुक्रबार काठमाडौंमा विशेष छलफल सम्पन्न भएको छ।
फोरमले हालको परिस्थितिमा सरकार र निजी क्षेत्रले संयमता अपनाउँदै आर्थिक गतिविधिलाई अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ। साथै, आम नागरिक र व्यवसायीहरूलाई विचलित नभई उत्पादन, व्यापार, लगानी र सेवा प्रवाहलाई निरन्तरता दिन आह्वान गरिएको छ।
फोरमका सदस्यसचिव विमल केडियाले भदौ २४ गते जेनजी आन्दोलनका नाममा भएका तोडफोड, आगजनी र लुटपाटका घटनाले देशको आर्थिक मनोवृत्तिमा नकारात्मक असर पारेको बताए। “अराजक गतिविधिले आम नागरिक र व्यवसायिक समुदायमा भय सिर्जना गरेको छ। यस्तो परिस्थितिमा राज्यले तत्काल राहत, पुनःस्थापना र मनोवैज्ञानिक पुनःनिर्माणका पहल गर्नुपर्छ,” उनले भने।
फोरमले सरकारसँग कर विवरण बुझाउने र बैंक ऋण भुक्तानीको समय १५ दिनले थप गर्न सिफारिस गरेको छ। साथै, सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याउनेलाई कानूनी कारबाहीमा ल्याउन आग्रह गरिएको छ।
अर्थमन्त्री खनालले बैठकमा सरकार हाल नीतिगत सुधार, लगानीमैत्री वातावरण, र राजस्व प्रणाली सुदृढीकरणमा केन्द्रित रहेको बताएका थिए। उनले लगानीकर्ताहरूको विश्वास पुनःस्थापित गर्न दीर्घकालीन सुधारका पहल अघि बढाइरहेको बताए।
बैठकमा सहभागी नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको र लगानीका लागि अवसरहरू खुला रहेको बताए। उनले वित्तीय स्थिरता कायम राख्न नियामक निकाय सधैं सचेत रहेको उल्लेख गरे।
यसैगरी पूर्व अर्थमन्त्रीहरू प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, वर्षमान पुन र प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रले पुनःउत्थानका संकेत देखाइरहेको तर लगानीकर्ताको आत्मविश्वास पुनःस्थापित गर्न ठोस राजनीतिक स्थिरता र नीति निरन्तरताको आवश्यकता रहेको मत व्यक्त गरे।
बैठकमा अर्थसचिव डा. घनश्याम उपाध्यायसहित उच्चस्तरीय सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।
सर्वसम्मत निष्कर्षमा, फोरमले सरकार, निजी क्षेत्र र वित्तीय संस्थाबीच सहकार्यात्मक प्रयासका माध्यमबाट आर्थिक स्थिरता र लगानी वातावरणलाई सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।