logo

२०८२ कात्तिक २१, शुक्रबार

logo
  • २०८२ कात्तिक २१, शुक्रबार
  • आईपीएल बिजेता क्लब आरसीबी करिब ३ खर्बमा बेच्ने तयारी, ६ लगानीकर्ताको चासो

    आईपीएल बिजेता क्लब आरसीबी करिब ३ खर्बमा बेच्ने तयारी, ६ लगानीकर्ताको चासो

    208
    SHARES
    आईपीएल बिजेता क्लब आरसीबी करिब ३ खर्बमा बेच्ने तयारी, ६ लगानीकर्ताको चासो

    काठमाण्डौ । २०२५ को इन्डियन प्रमियर लिग (आईपीएल) जितेको क्रिकेट टोली रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) बिक्रीको तयारीमा रहेको समाचारहरू सार्वजनिक भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम ब्लूमबर्ग न्युजलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले २ अर्ब डलर अर्थात करिब ३ खर्ब रुपैयाँ (२ खर्ब ८३ अर्ब ९० करोड नेपाली रुपैयाँ) मा क्लब बिक्रीको तयारी भइरहेको र त्यसमा ६ लगानीकर्ताले चसो देखाएको उल्लेख गरेको छ ।

    यूनाइटेड स्पिरिट्स लिमिटेड, ब्रिटिस बहुराष्ट्रिय कम्पनी डियाजियोको भारतीय इकाइले आफ्नो खेल व्यवस्थापन कम्पनी रोयल च्यालेन्जर्स स्पोर्ट्स प्रालिमा लगानी पुनरावलोकन प्रक्रिया सुरु गरेको समाचारमा उल्लेख गरिएको छ । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी)ले यस वर्ष पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपीएल) को उपाधि जितेको हो । कम्पनीले नोभेम्बर ५, २०२५ मा सेयर बजारमा बुझाएको विवरणअनुसार उक्त पुनरावलोकन प्रक्रिया आगामी मार्च ३१ भित्र सकिनेछ । यूनाइटेड स्पिरिट्सले अहिले नै आरसीबीको सेयर बिक्रीबारे स्पष्ट खुलासा भने गरेको छैन।

     

    तर, ब्लूमबर्ग न्युजका अनुसार डियाजियोले यसअघि सम्भावित सल्लाहकारहरूसँग छलफल गरी आरसीबीको मूल्यांकन करिब २ अर्ब अमेरिकी डलरसम्म गर्न सकिने अनुमान गरेको थियो । यही मूल्यांकनका आधारमा सम्भावित सेयर बिक्रीले आगामी दिनमा आईपीएल फ्रेन्चाइजहरूको मूल्य निर्धारणमा नयाँ मापदण्ड तय गर्न सक्छ भन्ने विश्लेषण गरिएको छ ।

     

    यूनाइटेड स्पिरिट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण सोमेश्वरका अनुसार, आरसीबी कम्पनीका लागि ‘महत्वपूर्ण र रणनीतिक सम्पत्ति’हो तर यो डियाजियोको मुख्य कारोबार (मदिरा व्यवसाय) सँग प्रत्यक्ष सम्बन्धित छैन । उनका अनुसार कम्पनीले आफ्नो भारतस्थित पोर्टफोलियो सन्तुलित बनाउन र दीर्घकालीन मूल्य सिर्जनामा केन्द्रित हुने रणनीति लिएको छ । आरसीबी मात्र होइन, अर्को एउटा आईपीएल फ्रेन्चाइज पनि लगानीकर्ता खोज्दैछ भन्ने जानकारी सार्वजनिक भएको छ। लगातार बढ्दो सञ्चालन लागतका कारण दुवै टोली नयाँ लगानीकर्ताको खोजीमा रहेको बताइन्छ।

    बेङ्गलुरुको एम. चिन्नास्वामी क्रिकेट मैदान, जुन आरसीबीको घरेलु मैदान हो।

    आरसीबीमा ६ सम्भावित लगानीकर्ता

    आरसीबी बिक्रीबारे खबर सार्वजनिक भएलगत्तै करिब छ वटा पक्षले टोलीमा लगानी गर्ने चासो देखाएको जनाइएको छ। तीमध्ये भारतीय तथा अमेरिकी कम्पनीहरू छन् । भारतीय उद्योगपति आदर पुनावाला (सिरम इन्स्टिच्युड अफ इन्डिया), पार्थ जिन्दल ( जेएसडब्ल्यू ग्रुप), अडानी समूह, साथै एक दिल्लीका बहुक्षेत्रीय व्यवसायी लगायतले चासो देखाएका क्रिकबजले जनाएको छ । यिनका अतिरिक्त, दुई अमेरिकी निजी इक्विटी कम्पनीहरूले पनि सम्भावना अध्ययन गरिरहेका छन् ।

    आदर पुनावालाले हालै सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका थिए, ‘सही मूल्याङ्कनमा @RCBTweets एक उत्कृष्ट टोली हो।’ उनको परिवारले २०१० मा आईपीएलको विस्तारताका टोली खरिद गर्न प्रयास गरेको थियो। डियाजियोले आरसीबीको मूल्य करिब २ अर्ब डलर तोकेको बताइन्छ । तर कतिपय विज्ञहरूका अनुसार यो मूल्य धेरै उच्च हुन सक्छ र अन्ततः बिक्री मूल्य मिडिया अधिकारका आगामी चक्रका मूल्याङ्कनमा निर्भर हुनेछ ।

     

    हालै ‘जियोस्टार’ले आफ्नो ग्राहक संख्या ५० करोड नाघेको घोषणा गरेको छ । यदि उनीहरूले प्रतिमहिना १०० रुपैयाँ शुल्क लिने हो भने, आईपीएल सिजनमा मात्र २० हजार करोड रुपैयाँ (करिब २.३ अर्ब अमेरिकी डलर) बराबरको आम्दानी हुनसक्ने अनुमान छ । पाँच वर्षमा यो रकम १० अर्ब अमेरिकी डलरसम्म पुग्ने सम्भावना छ । यसले आईपीएल मिडिया अधिकारको मूल्यलाई अझ बढाउन सक्छ । पछिल्लो चक्रमा यसको मूल्य करिब ६.३ अर्ब अमेरिकी डलर थियो, जुन २०२७ मा अझ वृद्धि हुने अपेक्षा गरिएको छ ।

     

    डियाजियोले बिक्री प्रक्रिया सल्लाहका लागि दुई निजी बैंक नियुक्त गरेको छ, जसमा सिटी बैंक पनि समावेश रहेको बताइएको छ । तर, कम्पनीको भारतीय शाखा (युनाइटेड स्पिरिट इन्डिया) ले बिक्रीमा उत्साह नदेखाएको र केही उच्च अधिकारी हालै यूकेमा छलफलका लागि गएको रिपोर्ट छ । आरसीबीसँग सम्बन्धित एक कानुनी मुद्दा ‘जुन ४ त्रासदी’ का नामले चिनिन्छ जुन अझै समाधान नभएकाले नयाँ लगानीकर्तालाई सो मुद्दाको जोखिमसमेत व्यहोर्नु पर्नेछ । आरसीबीले आईपीएल जितेपछिको उल्लासपूर्ण उत्सव बेङ्गलुरुमा दुःखद त्रासदीमा परिणत भएको थियो । एम. चिन्नास्वामी रंगशालामा प्रशंसकहरूको भीड बढ्दा उत्पन्न अराजकता र भगदौडका कारण ४० वर्षभन्दा कम उमेरका ११ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए ।

     

    साथै, बेङ्गलुरुको एम. चिन्नास्वामी क्रिकेट मैदानमा पनि व्यवस्थापकीय समस्या देखिएका कारण टोलीको दीर्घकालीन घरेलु मैदानबारे अनिश्चितता रहेको छ। आरसीबी आईपीएलको संस्थापक टोलीहरूमध्ये एक हो । यसलाई सुरुवाती चरणमा व्यवसायी विजय माल्याले स्वामित्वमा राखेका थिए । तर, उनको किङफिसर एयरलाइन्स २०१२ मा पतन भएपछि डियाजियोले यूनाइटेड स्पिरिट्ससहित आरसीबी पनि नियन्त्रणमा लिएको हो ।

     

    भारतमा स्वास्थ्य मन्त्रालयले हालै खेलकुदमा मदिरा र तमाखु ब्रान्डको प्रचार–प्रसार रोक्ने प्रयासलाई तीव्र बनाएको छ, जसले पनि डियाजियोलाई आफ्ना गैरमुख्य सम्पत्तिहरू पुनःसमीक्षा गर्न प्रेरित गरेको बताइन्छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार डियाजियोको स्वामित्वमा रहेको आरसीबी टोली अहिले आर्थिक मूल्याङ्कन र सम्भावित बिक्रीको मोडमा पुगेको छ । २ अर्ब डलरको मूल्य, छवटा सम्भावित लगानीकर्ता, मिडिया अधिकारको बढ्दो सम्भावना र कानुनी–प्रशासनिक चुनौतीबीच आरसीबीको भविष्य अहिले अनिश्चित बनेको छ ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक २०, विहिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट