काठमाण्डौ । भारतीय व्यवसायी अनिल अम्बानीका समस्या झन् बढ्दै गएका छन् । अब अनुसन्धानको दायरामा उनको रिलायन्स समूह पनि परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतको कर्पोरेट मामिला मन्त्रालय (एमसीए) ले आफ्नो अनुसन्धान निकाय सिरियस फ्रड इन्भेस्टिगेसन अफिस (एसएफआईओ) लाई अनिल धीरुभाई अम्बानी ग्रुप (एडीएजी) अन्तर्गतका केही कम्पनीहरूको छानबिन गर्न आदेश दिएको छ ।
यो छानबिन कर्पोरेट सुशासनका नियममा अनियमितता र आर्थिक स्रोतको दुरुपयोग सम्बन्धी आरोपका कारण सुरु गरिएको हो । स्रोतहरूका अनुसार मन्त्रालयले यो आदेश यसै हप्तामा जारी गरेको हो । एसएफआइओले कम्तीमा रिलायन्स इन्फ्रास्ट्रक्चर, रिलायन्स कम्युनिकेसन्स, रिलायन्स कमर्शियल फाइनान्स लिमिटेड र सीएलई प्राइभेट लिमिटेडको छानबिन गर्नेछ । मन्त्रालयले यो कदम त्यसपछि उठायो जब वित्तीय संस्थान र अडिटरहरूले एडीएजी समूहका वित्तीय विवरणहरूमा धेरै अनियमितता देखाएका थिए । बैंकहरूले रिलायन्स क्यापिटल र आरकमको ऋण असफल भएपछि गरेका फरेन्सिक अडिटमा पनि त्यस्तै चिन्ताजनक तथ्यहरू फेला परेका थिए ।
सरकारी अधिकारीका अनुसार यी कम्पनीहरूको छानबिन पहिले नै सीबीआई र ईडी (प्रवर्तन निर्देशनालय) ले गरिसकेका छन् । यसपालिको एसएफआईओ छानबिन भने मुख्य रूपमा कर्पोरेट सुशासनका मुद्दाहरूमा केन्द्रित हुनेछ ।अनुसन्धानमा यो समेत हेरिनेछ कि बैंक, अडिटर वा रेटिङ एजेन्सीहरूले जानाजानी कुनै जानकारी लुकाएका थिए कि थिएनन् । साथै यदि आर्थिक हेरफेर भएको छ र त्यो शेल कम्पनीहरू (कागजमा मात्र रहेका फर्जी कम्पनीहरू) मार्फत गरिएको हो भने त्यसको पनि अनुसन्धान हुनेछ ।
यदि छानबिनमा कुनै शेल वा धोखा गर्ने कम्पनी फेला परेमा एमसीए वा रजिस्ट्रार अफ कम्पनीजले त्यस्ता कम्पनीहरू बन्द गर्न, तिनीहरूविरुद्ध मुद्दा चलाउन वा तिनीहरूका निर्देशकहरूलाई अयोग्य ठहर गर्न सक्नेछ । ईडीको पछिल्लो कारबाहीपछि रिलायन्स इन्फ्रास्ट्रक्चरले जारी गरेको विज्ञप्तिमा भनिएको थियो कि यो घटनाले कम्पनीको सञ्चालन, सेयरधारक, कर्मचारी वा अन्य सरोकारवालामा कुनै प्रभाव पार्नेछैन ।
कम्पनीका अनुसार अनिल अम्बानी तीन वर्षभन्दा बढी समयदेखि आरइन्फ्राको बोर्डमा छैनन् । गत हप्तामात्रै ईडीले एडीएजी समूहसँग सम्बन्धित ७ हजार ५०० करोड भारतीय रुपैयाँभन्दा बढी मूल्यका सम्पत्तिहरू जफत गरेको थियो । यो कारबाही सार्वजनिक रकमको दुरुपयोगसम्बन्धी जारी अनुसन्धानको हिस्सा हो । जफत सम्पत्तिमा मुम्बईको पाली हिलमा रहेको आवासीय भवन, नयाँ दिल्लीको रिलायन्स सेन्टर र मुम्बईस्थित धीरुभाई अम्बानी नलेज सिटीमा रहेका करिब १३२ एकड जग्गा समावेश छन् जसको मूल्य झण्डै ४ हजार ४६२.८१ करोड भारु पर्ने बताइएको छ ।