काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि दर ३.८८ प्रतिशत पुग्ने अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक कार्यालयका अनुसार यस वर्ष प्रदेशको अर्थतन्त्रमा सुधार आउने मुख्य कारण खाद्यान्न र तरकारी उत्पादनमा आएको वृद्धि हो।
राष्ट्र बैंकका अनुसार देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) उपभोक्ता मूल्यमा ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ भने मधेश प्रदेशको जीडीपी ८ खर्ब ४ अर्ब रुपैयाँ हुने देखिएको छ। राष्ट्रिय जीडीपी वृद्धि दर यस वर्ष ३.९९ प्रतिशत रहने अनुमान गरिएको छ।
मधेश प्रदेशको जीडीपीमा कृषि, वन तथा मत्स्यपालन क्षेत्रको योगदान सबैभन्दा बढी ३६.७० प्रतिशत रहेको छ। खानी तथा उत्खनन क्षेत्रको योगदान भने न्यूनतम ०.१५ प्रतिशत मात्र रहेको छ। आगामी आर्थिक वर्षमा प्रदेशको प्रतिव्यक्ति आय ९३२ अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको छ।
प्रदेशमा तरकारी तथा बागवानीको क्षेत्रफल १०.२७ प्रतिशतले बढेको भए पनि फलफूल र मसला बालीको क्षेत्रफल क्रमशः २५.२० र ७.९४ प्रतिशतले घटेको तथ्यांकले देखाउँछ। खाद्य तथा अन्य बाली उत्पादनमा १४.०१ प्रतिशत, र तरकारी तथा बागवानी उत्पादनमा ९.७९ प्रतिशत वृद्धि भएको छ।
प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट कृषि, वन र मत्स्यपालन क्षेत्रमा ६२ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन कुल कर्जाको १२.७० प्रतिशत हो। औद्योगिक क्षेत्रमा कर्जा प्रवाह ५.११ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब ९ करोड रुपैयाँ पुगेको छ। उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग ४६.४७ प्रतिशत रहेको छ।
गत आर्थिक वर्षमा मधेश प्रदेशका होटलहरूमा कामदार संख्या २०.४२ प्रतिशतले घटेको भए पनि पर्यटक आगमन १८.२५ प्रतिशतले बढेको छ। घरजग्गा दर्ता संख्या ३४.१७ प्रतिशतले बढ्दा त्यसबाट संकलित राजस्व १९.२९ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ।
बैंक निक्षेप १६.६८ प्रतिशतले र कर्जा ३.६२ प्रतिशतले वृद्धि भएको छ। प्रदेशका प्रमुख राष्ट्रिय गौरवका आयोजना — निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौं–तराई मधेश द्रुतमार्ग र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम — कार्यान्वयन चरणमा रहेका छन्, जसमा हुलाकी राजमार्ग निर्माणको गति तुलनात्मक रूपमा तीव्र रहेको बताइएको छ।
गत आवमा मधेश प्रदेशबाट १ लाख ९३ हजार ९०२ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्, जुन देशभरबाट जाने कुल श्रमिकको २३.१० प्रतिशत हो।
अर्थ चौतारी ।