काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२।०८३ को कार्तिकसम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा कम रहेर सार्वजनिक भएको छ। राजस्व व्यवस्थापन महाशाखाका तथ्याङ्कअनुसार यस आर्थिक वर्षको वार्षिक लक्ष्य १४ खर्ब ८० अर्ब तोकिएको थियो। तर कार्तिकसम्मको लक्ष्य ४ खर्ब २५ अर्ब २३ करोड रहेकोमा जम्मा सङ्कलन ३ खर्ब २९ अर्ब ५१ करोड मात्रै भएको छ। यसअनुसार प्राप्ति प्रतिशत ७७.४९ प्रतिशतमा सीमित भएको छ।
कार्तिक महिनाको मात्रै लक्ष्य १ खर्ब ३ अर्ब ७० करोड तोकिएकोमा वास्तविक सङ्कलन ७८ अर्ब ३३ करोड मात्रै पुगेको महाशाखाले जनाएको छ। महिनाको प्राप्ति प्रतिशत ७५.४९ प्रतिशत सीमामा रहेको छ। दैनिक आधारमा कार्तिक ३० गतेको सङ्कलन ३ अर्ब ६८ करोड मात्रै भएको तथ्यांक सार्वजनिक गरिएको छ।
गत वर्षको तुलनामा पनि स्थिति कमजोर देखिएको छ। आर्थिक वर्ष २०८१।८२ मा वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रहेको थियो भने कार्तिकसम्मको लक्ष्य ४ खर्ब ६ अर्ब ३७ करोड थियो। सो वर्ष कार्तिक ३० गतेसम्मको जम्मा सङ्कलन ३ खर्ब २९ अर्ब २ करोड मात्र थियो। कार्तिक महिनाको मात्र सङ्कलन ७६ अर्ब पुगेको थियो।
यस वर्षको कम सङ्कलनमा केही बाह्य कारण पनि देखिएका छन्। हालै भएको जेनजी आन्दोलनले बजार बन्द, व्यापारिक गतिविधि अवरुद्ध र दैनिक कारोबारमा अस्थिरता ल्याएको छ। आन्दोलनका कारण व्यापारिक सेवा र कर सङ्कलनमा बाधा पुगेकोले कार्तिक महिनाको कम सङ्कलनमा प्रत्यक्ष असर परेको छ।

