logo

२०८२ मंसिर १, सोमबार

logo
  • २०८२ मंसिर १, सोमबार
  • रियल इस्टेटमा संकट गहिरिँदा चीनको अर्थतन्त्रमा ठूलो जोखिम

    रियल इस्टेटमा संकट गहिरिँदा चीनको अर्थतन्त्रमा ठूलो जोखिम

    26
    SHARES
    रियल इस्टेटमा संकट गहिरिँदा चीनको अर्थतन्त्रमा ठूलो जोखिम

    काठमाण्डौ । चीनको रियल इस्टेट संकट झन् गहिराइमा गइरहेको छ । विगत ४ वर्षदेखि चीन सरकारले यसलाई समाधान गर्न सकेको छैन र यसको कारणले पूरै अर्थतन्त्र डुब्ने खतरा कायम छ । अक्टोबरमा नयाँ घरको मूल्यमा ०.४५ प्रतिशत गिरावट आएको छ, जुन यस वर्षको सबैभन्दा ठूलो गिरावट हो । साथै रिसेल घरको मूल्यमा पनि ०.६६ प्रतिशत कमी आएको छ, जुन १३ महिनामा सबैभन्दा बढी हो ।

     

    एक सर्वेक्षणअनुसार देशका ७० प्रमुख सहरमा नयाँ र रिसेल घरको मूल्यमा गिरावट आएको छ, जसले सम्पूर्ण रियल स्टेट क्षेत्रको कमजोरी उजागर गरेको छ । विशेषज्ञहरूको भनाइअनुसार चीनमा नयाँ घरको माग लगातार घटिरहेको छ जसका कारण मूल्यमा गिरावट आएको हो । चाइना इन्डेक्स एकेडेमीले २६० सहरमा गरेको सर्वेक्षणअनुसार साना सहरहरूमा होम पर्चेजिङ कन्फिडेन्स गत महिनाको तुलनामा २.९ प्रतिशत कम भएको छ ।

     

     

    चीनको अर्थतन्त्रमा रियल स्टेट क्षेत्रको करिब एक तिहाई (६ ट्रिलियन डलर) योगदान छ । यस क्षेत्र डुब्दा बैंकिङ क्षेत्रलाई पनि नोक्सान पुग्न सक्छ । बैंकहरूले रियल स्टेट क्षेत्रमा धेरै ऋण दिएको छन् । भक्सचाइनाको विश्लेषण अनुसार लगभग २५ प्रतिशत बैंकहरूको सम्पत्ति रियल इस्टेटसँग सम्बन्धित छ ।

     

     

    चीनको रियल इस्टेट क्षेत्र २०२१ देखि नै संघर्षरत छ, जब एभरग्रान्ड कम्पनीले ऋण भुक्तानीमा डिफल्ट (कुनै व्यक्ति, कम्पनी वा संस्था आफ्नो कर्जा, ऋण वा अन्य वित्तीय दायित्व समयमै तिर्न असफल हुनु) गर्यो । त्यसपछि धेरै कम्पनीहरू यस संकटमा फँसे । यस संकटका कारण घर किन्नेहरू, लगानीकर्ताहरू र कम्पनीहरूको विश्वास गम्भीर रूपमा डगमगाएको छ ।

     

     

    सरकारले यस क्षेत्रलाई संकटबाट निकाल्न विभिन्न कदम उठाएको छ । बैंकहरूको जोखिम कम गर्दै बजारलाई स्थिर पार्ने उद्देश्यले नयाँ नीतिहरू लागू भएका छन् । चीन सरकारले ‘सेतो सूची’योजना लागू गर्दै केही छानिएका घर निर्माण परियोजनाहरूलाई प्राथमिकता दिएको छ । यस अन्तर्गत बैंकहरूले युआन ५ ट्रिलियनभन्दा बढी कर्जा स्वीकृत गरेका छन् । यसले जोखिमपूर्ण परियोजनामा कर्जा प्रवाह घटाउँदै गुणस्तरीय परियोजनामा लगानी बढाउने काम गरिरहेको छ ।

     

     

    साथै घर किन्ने र ऋण तिर्नेलाई सहज बनाउन विभिन्न उपायहरू अपनाइएको छ । डाउन पेमेन्ट दर घटाइएको छ, ब्याजदरमा छुट दिइएको छ र पुराना कर्जाहरूको अवधि बढाउने निर्देश जारी गरिएको छ । सरकारले ‘चार खारेजी, चार घटाउने, दुई बढाउने’ नीति लागू गर्दै सहरमा घर किन्न र बेच्नका नियमहरूमा लचिलोपन दिएको छ ।

     

     

    बैंकहरूले नयाँ प्रोजेक्टमा मात्र होइन, पुराना लोनहरूको ‘समय पुनःस्थापना’ पनि गर्ने प्रोत्साहन पाएका छन् । यसबाहेक स्थानीय सरकारको ऋण व्यवस्थापनमा नियन्त्रण बढाउने र जोखिम कम गर्ने प्रयास जारी छ । चीनमा सम्पत्ति बिक्री र सम्पत्ति लगानीमा पनि ठूलो गिरावट आएको छ ।


    अर्थ चाैतारी
  • २०८२ मंसिर १, सोमबार
  • सम्बन्धित समाचार