मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयबाट दुई महिनाको अवधिमा ७ अर्ब ३६ करोड ५८ लाख ६१ हजार बराबरको मालवस्तु चीनबाट आयात गरिएको छ ।
रसुवागढी नाका र तातोपानी नाका गत असार र भदौ महिनामा बाढी पहिरोका कारण अवरुद्ध बनेपछि (नेपाल—चीन) लोमान्थाङ—२ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयलाई विकल्पका रूपमा ३० भदौदेखि प्रयोगमा ल्याइएको थियो ।
भन्सार विभागले यहाँको कोरलास्थित मुस्ताङ भन्सारलाई वैकल्पिक नाकाका रूपमा प्रयोग गरेलगत्तै पूर्ण रूपमा मुस्ताङ भन्सार कार्यालयलाई गतिशील तुल्याएको हो ।
नेपाल—चीन कोरलानाकाबाट मङ्सिर मसान्तसम्ममा ७ अर्ब ३६ करोड बढीको मालवस्तु आयात हुँदा सयौं विद्युतीय सवारीसाधनका साथै इलेक्ट्रोनिक सामान, लत्ताकपडा र विद्युतीय उपकरणहरु कोरलानाकाबाट भित्रिएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए ।
यसैगरी, कोरलानाकाबाट चीनतर्फ ८ करोड ३८ लाख ६३ हजार बराबरको हस्तकलाका सामान नेपालबाट भन्सार जाँचपास भई निर्यात भएको भन्सार प्रमुख खड्काको भनाइ छ ।
मुस्ताङ भन्सार कार्यालयले दुई महिनाको अवधिमा चीनबाट ७ अर्ब ३६ करोडको समान आयात र ८ करोड ३८ लाख बढीको सामान चीनतर्फ निर्यात गर्दा ३ अर्ब ६२ करोड ६९ लाख बढी बढी राजस्व सङ्कलन गरेको भन्सार प्रमुख खड्काले बताए ।
यहाँको भन्सार कार्यालयबाट ३० भदौदेखि ३० मङ्सिरसम्ममा एक हजार ७२६ वटा विद्युतीय सवारी चीनबाट कोरलानाका हुँदै भन्सार जाँचपास भई गन्तव्यतर्फ पठाइएको छ ।
यसैगरी, उत्तरी कोरलानाकास्थित चिनियाँ भन्सारबाट पैठारी भएका ८९७ वटा मालवाहक ढुवानीका साधनहरू भन्सार जाँचपास भई गन्तव्यतर्फ लागेको भन्सार प्रमुख खड्काको भनाइ छ ।
नेपालबाट भने मुस्ताङ भन्सार कार्यालयमा जाँचपास भएर ५४ वटा मालवाहक ढुवानीका साधनहरू निकासी भएको कार्यालयले जनाएको छ ।