काठमाण्डौ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रकाशजंग केसीको नेतृत्वमा समिति बनाउने निर्णय गरेको हो।
लामो समयदेखि उठ्दै आएको नेप्से सुधारको आवश्यकता, बजार विस्तार, प्रविधि सुदृढीकरण र नियमन व्यवस्थामा व्यापक परिवर्तन आवश्यक ठहरिँदै सरकारले यसपटक आधिकारिक रूपमा पुनःसंरचनाको प्रक्रिया अघि बढाएको हो।
समितिले नेप्सेको संस्थागत संरचना, दक्षता, सरकारी स्वामित्व मोडेल, सेयर बजारको शासन प्रणाली तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार संरचना पुनःनिर्माणको सम्भावनाबारे प्रतिवेदन पेश गर्नेछ।
यसअन्तर्गत, मन्त्रिपरिषद्लो ‘जेनजी आन्दोलन’ का क्रममा घाइते भएका २ हजार ४२९ जनालाई जनही १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ।
यस्तै, बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधनका लागि तयार गरिएको अध्यादेश राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको छ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत नर्वेबाट ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्डबाट २.१ मिलियन अमेरिकी डलर बराबरको थप अनुदान स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
अर्थ चौतारी ।