logo

२०८३ असार २९, सोमबार

logo
  • २०८३ असार २९, सोमबार
  • समुन्नत नेपालको सपना कहिल्यै टुट्नु हुँदैन, निर्वाण चौधरीको लेख

    समुन्नत नेपालको सपना कहिल्यै टुट्नु हुँदैन, निर्वाण चौधरीको लेख

    1.3K
    SHARES
    समुन्नत नेपालको सपना कहिल्यै टुट्नु हुँदैन, निर्वाण चौधरीको लेख

    दौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको विध्वंसपछि देशको अर्थतन्त्रमा नयाँ चुनौतीहरू देखा परेका छन् । यसैपनि कमजोर जगमा उभिएको हाम्रो अर्थतन्त्र आफैमा बलियो थिएन, त्यसमाथि भदौ २४ मा अर्थतन्त्रका खम्बाहरू नराम्ररी हल्लाइदिएपछि समग्र अर्थतन्त्रमाथि थप अनिश्चयको बादल मडारिएको छ ।



    यस बर्ष नेपालको आर्थिक बृद्धिदर ५.२ प्रतिशत हुने अपेक्षा गरिएकोमा उक्त आन्दोलनपछि २.१ प्रतिशतमा सिमित हुने विश्व बैंकको प्रक्षेपण सार्वजनिक भइसकेको छ । कमजोर अवस्थामा रहेको रोजगारी श्रृजनाको अवस्थामा नीजि क्षेत्रमाथि आक्रमण गरिएपछि थप नकारात्मक चाँप परेको छ । र, लगानी खुम्चिने अवस्था छ । समग्रमा चालू आर्थिक बर्षमा हामीसँग आर्थिक उपलब्धीका उत्साहपूर्ण कथाहरू हुने छैनन् ।

     

    तर मैले राजनीतिक अस्थिरता, आर्थिक अनिश्चितता र कहिलेकाहीँ उठ्ने नकारात्मक सोंचबीच नेपाललाई सधैंव अपार सम्भावना भएको राष्ट्रका रूपमा हेर्दै आएको छु । सोही कारण हुन सक्छ, भदौ २४ मा हामीमाथिको निर्दयी प्रहारपछि पनि मैले यहि देशमा थप उत्साहपूर्ण उपलब्धी हासिल गर्न सकिने विश्वास लिएको छु ।

     

    हाम्रा जलाएर ध्वस्त पारिएका व्यवसायिक प्रतिष्ठानहरु र निजी निवासको खरानी हातमा लिएर पनि मैले फेरी प्रण गरेको छु– हामी फेरी उठ्नेछौँ । नेपाल आर्थिक प्रगतीको बाटोमा अगाडि बढ्नेछ । नीजि क्षेत्रले गुम्न लागेको विश्वास जुटाएर फेरी उठ्ने प्रण गरेको छ । यसले आजको दिनमा नेपालमा नयाँ आशा भरिरहेको छ । हाम्रो व्यवसायिक यात्रामा पक्कै पनि धेरै मोडहरु आए— कहिले संकटको भूँमरीमा हामी फस्यौँ भने कहिले अवसरहरुले हामीलाई नयाँ आशा जगाईदिए ।

    यस्ता अनुभवका सकारात्मक, नकारात्मक पक्षहरू पक्कै छन्, तर यिनै उतार–चढावले हामीलाई अझ बढी अनुशासित, दृढ र दूरदर्शी बनाउँदै अघि बढ्न प्रेरणा मिलेको छ । यी अनुभवले एउटा कुरा भने प्रष्ट पारिदियो कि नेपालको परिवर्तन हाम्रै युवाशक्ति, उद्यमशीलता र दूरदृष्टि भएको नेतृत्वमा निहित छ ।

    आजका युवामा जुन ऊर्जा, कौशल र उद्यमशीलताको नयाँ मोडेल देखिन्छ, त्यसले मलाई सधैं आशावादी बनाइदिन्छ । विश्वका जुनसुकै मुलुकमा जाँदा पनि नेपाली युवाको प्रतिभा चम्किएको देखिन्छ । तर मुख्य प्रश्न यही हो—हामीले हाम्रा युवालाई नेपालमै भविष्य देख्ने वातावरण दिन सकेका छौँ कि छैनौँ ?

     

    विदेश त जुनसुकै कारणले जान सकिन्छ, तर एकपटक विदेश गएका हाम्रा युवा किन उतै बस्न चाहिरहेका छन् ? उनीहरूलाई स्वदेश फर्कने माहोल बनाउन राजनीतिक नेतृत्वकै दूरदृष्टि आवस्यक पर्छ जुन हामीले अहिले पनि देशभित्र खोजिरहेका छौँ ।

     

    अहिले नै पनि देशमा युवाहरुका नयाँ नयाँ भिजनहरुमा पर्याप्त लगानीका अवसरहरुले प्रतिक्षा गरिरहे जस्तो देखिन्छ । वित्तिय क्षेत्रमा अत्यधिक तरलता छ र ब्याजदर निकै तल झरिसकेको छ । यो समय भनेको युवाहरुले आफ्ना प्रारम्भिक स्टार्टअपहरुमा लगानी गर्न उपयुक्त मौका पनि हो ।

    तर, किन युवाहरू सस्तो ब्याजमा लगानी जुटाएर आफ्ना आईडियाहरुलाई कार्यान्वयन गर्न उत्साहित बनिरहेका छैनन् ? राजनीतिले हेरिदिनुपर्ने यहिनिर हो । यूरोप र अमेरिकामा नयाँ नयाँ विजनेशमा लगानी गरिरहेका नेपाली युवाहरु किन देशभित्र आफ्ना आईडिया कार्यान्वयन गर्ने अवसरको सदुपयोग गर्न हिच्किचाईरहेका छन् ? हामीले ध्यान दिनुपर्ने यसतर्फ हो ।

    यो समयमा सरकारले नीजि क्षेत्रलाई विश्वासमा लिएर लगानीका लागि प्रोत्साहन गर्नुपर्छ ताकी वित्तिय क्षेत्रमा बग्दै गरेको तरलता व्यवस्थापन गर्न सकियोस् र देशभित्र लगानीको दायरा फराकिलो बन्दै जाओस् । ब्याजदर घटे पनि उद्यमी व्यावसायीहरु ऋण लिन उत्सुक छैनन् । सायद, यसको कारण असुरक्षा भय हुन सक्छ । वा भविष्यमा लगानीको सुरक्षाको प्रश्न पनि भित्रभित्रै गुम्सिएको हुनसक्छ । त्यसैले निजी क्षेत्रलाई सहयोग गर्ने, उद्यमशीलतालाई सम्मान गर्ने र आत्मविश्वास जगाउने दृष्टिकोण राज्यको प्राथमिकतामा देखिनु आवस्यक छ जसले लगानीकर्तामा भरोसा बढ्न सकोस् ।

     

    नेपालमा प्राय: अवसरका तुलनामा अवरोधहरूलाई तेस्र्याउने प्रचलन छदैछ । कतिपय क्षेत्रमा त ढोका नै बन्द गरिन्छ । कतै नियतको समस्या देखिन्छ, कतै माफियागिरीले उद्यमशीलता दबाउने काम गर्छ । यसको एउटा ज्वलन्त उदाहरण हो– चौधरी ग्रुपलाई टेलिकम क्षेत्रमा रोक्नु । टेलिकम क्षेत्रमा प्रवेशका लागि हामीले १२ वर्षसम्म अनुमति नपाएको अनुभवले हामीलाई ठूलो पाठ पनि सिकाएको छ —आर्थिक समृद्धि नबुझ्ने नेतृत्व हुँदा देश आर्थिक रुपमा अधोगति लाग्छ भन्ने कुरा ।

    दुई–तिहाइको सरकार र राजनीतिक स्थिरता हुँदा पनि आर्थिक संरचनागत समस्या सम्बोधन हुन नसक्नु आफैंमा गम्भीर बिषयहरु थिए । अब हामीलाई नीति पढ्ने मात्रै होइन, आर्थिक विकासको सहि व्यवस्थापन गर्न सक्ने नेतृत्व पनि आवश्यक छ भन्ने अनुभव गराएको छ जसले राष्ट्रमा नतिजा दिने गरि विकास परियोजनाहरुमा काम गरोस् । आजको दिनमा फेरी के पनि बुझ्न जरुरी छ भने स्टण्ट गर्नु र काममा रिजल्ट निकाल्नु भनेका विल्कुल फरक कुरा हुन् । स्टण्टले एकैछिन काम गरेको जस्तो भ्रम मात्रै दिन्छ तर सहि व्यवस्थापकले राष्ट्रलाई अर्को तहमा पुर्‍याउने गरि स्थापित गर्दछ ।

    नेपालमा एउटा गम्भिर समस्या भने देखा परेको छ । देश सञ्चालनको नेतृत्व तहमा रहेका राजनीतिज्ञ हुन् वा ब्यूरोक्रेसी, अपवादलाई छाडेर उनीहरुका छोरानाती विदेशमा छन् । जो नेपालको विकास निर्माणको नेतृत्वमा छन्, उनीहरुलाई यो देश कसरी बनाउने भन्ने हुटहुटी हुनुपर्ने थियो र सोही अनुसार काम गर्नुपर्ने थियो तर अवस्था यस्तो देखिदै छ कि यहाँ आफ्नो हैसियत रहदासम्म हैकम जमाउने र रिटायर्ड हुनासाथ छोरानाती भएको देश जाने ।

     

    आफूलाई यो देशमा बस्नुछैन र आफ्नो नेक्स्ट जेनेरेशन पनि यो देशमा बस्ने होइन भन्ने भएपछि उनीहरुको ध्यान देश निर्माणमा देखिदैछैन । यो प्रवृत्तीतर्फ पनि ध्यान दिनुपर्ने अवस्था छ अन्यथा देशका लागि मरिमेट्नेहरूका लागि यो समूहले अवरोधका रुपमा काम गरिरहनेछ किनकी उसलाई यो देशको भविष्यसँग चिन्ता छैन ।

    जेनजी आन्दोलनले देशमा आर्थिक अनिश्चयताको वातावरण देखा पर्‍यो तर हामीले हाम्रा साझेदारसँगको विश्वासलाई भने गुम्न दिएनौँ । हामीले त्यो घटनालाई प्रतिशोधको आँखाले होइन, जिम्मेवारीका दृष्टिले हेर्‍यौँ । त्यसैले आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गर्यौं, र त्यो प्रक्रिया कार्यान्वयनमा आई पनि सकेको छ । त्यस्तै नेपालप्रति साझेदारहरुको दृष्टिकोण नकारात्मक बन्नबाट जोगाएरै राख्न सफल भयौँ ।

     

    भदौ २४ को विध्वंसपछि पनि चौधरी ग्रुपले विदेशी साझेदारसहित नेपालमा लगानी गरिसकेका छौँ जसमध्ये नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा शिलान्यास गरिएको बिकाजी स्न्याक्स फ्याक्ट्री एउटा उदाहरण हो । विदेशस्थित साझेदारहरूले प्राय: नेपालको अवस्थाबारे सोध्छन्, र म सधैं भन्ने गर्छु—नेपालजति सम्भावनायुक्त मुलुक संसारमा थोरै मात्र छन् । सही वातावरण बन्यो भने यहाँ लगानीको बाढी आउन सक्छ ।

    हामी नेपालको सम्मानलाई विश्वभर कसरी फैलाउन सकिन्छ भनेर पनि कटिवद्ध भएर लागिरहेका छौँ । ज्यागुअर वा ल्यान्डरोभरका उत्पादन भएका देशहरुमा भारतको झन्डा फहराईरहेका हुन्छ ठीक त्यसैगरि हामीले वाइवाइलाई नेपाली झन्डासहित विश्व बजारमा उभ्याएका छौँ । विदेशमा जहाँ वाइवाइको फ्याक्ट्री छ, त्यहाँ नेपाली झण्डा फरफराईरहेका छन् ।

     

    मलाई मेरा उद्यमी साथीहरुले बेलाबखत गुनासो गरिरहनुभएको हुन्छ– नेपालमा पैसा कमाउनु, रोजगारी श्रृजना गर्नुु, कर तिर्नु के अपराध हो ? किन हामीमाथि त्यस्तै व्यवहार गरिन्छ भनेर । मैले उहाँहरुलाई भन्ने गरेको छुँ– हामी यस्तो व्यवहारबाट हतोत्साहित हुनुहुदैन । जब नयाँ जेनेरेशनले देश विकासको आधार भनेकै देशमा लगानी गर्नु हो र लगानीकर्ताकै कारण देश आर्थिक रुपमा समुन्नत बन्नेछ भन्ने कुरा बुझ्नेछन् त्यो दिन उद्यमी व्यावसायीहरु पनि सम्मानीत हुने आउँनेछ । मलाई लाग्छ, शिक्षामा अब्बल बन्दै गएको नयाँ पुस्ता यो कुरा धेरैहदसम्म बुझिसकेको छ ।

     

    हामीले गरेका काम, भोगेका चुनौती, बनाएका योजना र देखेका सपनाहरू सबै एउटै निष्कर्षमा आएर टुङ्गिन्छन्— नेपालको आर्थिक समुन्नती । त्यसका लागि निजी क्षेत्रलाई साझेदार मान्ने, युवालाई मार्गदर्शन गर्ने, आर्थिक संरचनालाई स्पष्ट बनाउने र देशलाई स्थिर दिशा दिने सक्षम राजनीतिक नेतृत्व अब देशले पाउनेछ भन्ने हामीले विश्वास गर्नुपर्छ । यो अवस्थामा नेपालले गरेको आर्थिक तरक्की हामीले आफ्नै आँखाले देख्न पाउँनेछौँ ।

    (सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक चौधरीको यो लेख ‘सेजन स्मारिका २०८२’ बाट लिइएको हो ।)


    अर्थ चौतारी
  • मंगलबार, १६ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट