दौ २३ गतेको जेनजी आन्दोलन र २४ गतेको विध्वंसपछि देशको अर्थतन्त्रमा नयाँ चुनौतीहरू देखा परेका छन् । यसैपनि कमजोर जगमा उभिएको हाम्रो अर्थतन्त्र आफैमा बलियो थिएन, त्यसमाथि भदौ २४ मा अर्थतन्त्रका खम्बाहरू नराम्ररी हल्लाइदिएपछि समग्र अर्थतन्त्रमाथि थप अनिश्चयको बादल मडारिएको छ ।
यस बर्ष नेपालको आर्थिक बृद्धिदर ५.२ प्रतिशत हुने अपेक्षा गरिएकोमा उक्त आन्दोलनपछि २.१ प्रतिशतमा सिमित हुने विश्व बैंकको प्रक्षेपण सार्वजनिक भइसकेको छ । कमजोर अवस्थामा रहेको रोजगारी श्रृजनाको अवस्थामा नीजि क्षेत्रमाथि आक्रमण गरिएपछि थप नकारात्मक चाँप परेको छ । र, लगानी खुम्चिने अवस्था छ । समग्रमा चालू आर्थिक बर्षमा हामीसँग आर्थिक उपलब्धीका उत्साहपूर्ण कथाहरू हुने छैनन् ।
तर मैले राजनीतिक अस्थिरता, आर्थिक अनिश्चितता र कहिलेकाहीँ उठ्ने नकारात्मक सोंचबीच नेपाललाई सधैंव अपार सम्भावना भएको राष्ट्रका रूपमा हेर्दै आएको छु । सोही कारण हुन सक्छ, भदौ २४ मा हामीमाथिको निर्दयी प्रहारपछि पनि मैले यहि देशमा थप उत्साहपूर्ण उपलब्धी हासिल गर्न सकिने विश्वास लिएको छु ।
हाम्रा जलाएर ध्वस्त पारिएका व्यवसायिक प्रतिष्ठानहरु र निजी निवासको खरानी हातमा लिएर पनि मैले फेरी प्रण गरेको छु– हामी फेरी उठ्नेछौँ । नेपाल आर्थिक प्रगतीको बाटोमा अगाडि बढ्नेछ । नीजि क्षेत्रले गुम्न लागेको विश्वास जुटाएर फेरी उठ्ने प्रण गरेको छ । यसले आजको दिनमा नेपालमा नयाँ आशा भरिरहेको छ । हाम्रो व्यवसायिक यात्रामा पक्कै पनि धेरै मोडहरु आए— कहिले संकटको भूँमरीमा हामी फस्यौँ भने कहिले अवसरहरुले हामीलाई नयाँ आशा जगाईदिए ।
यस्ता अनुभवका सकारात्मक, नकारात्मक पक्षहरू पक्कै छन्, तर यिनै उतार–चढावले हामीलाई अझ बढी अनुशासित, दृढ र दूरदर्शी बनाउँदै अघि बढ्न प्रेरणा मिलेको छ । यी अनुभवले एउटा कुरा भने प्रष्ट पारिदियो कि नेपालको परिवर्तन हाम्रै युवाशक्ति, उद्यमशीलता र दूरदृष्टि भएको नेतृत्वमा निहित छ ।

आजका युवामा जुन ऊर्जा, कौशल र उद्यमशीलताको नयाँ मोडेल देखिन्छ, त्यसले मलाई सधैं आशावादी बनाइदिन्छ । विश्वका जुनसुकै मुलुकमा जाँदा पनि नेपाली युवाको प्रतिभा चम्किएको देखिन्छ । तर मुख्य प्रश्न यही हो—हामीले हाम्रा युवालाई नेपालमै भविष्य देख्ने वातावरण दिन सकेका छौँ कि छैनौँ ?
विदेश त जुनसुकै कारणले जान सकिन्छ, तर एकपटक विदेश गएका हाम्रा युवा किन उतै बस्न चाहिरहेका छन् ? उनीहरूलाई स्वदेश फर्कने माहोल बनाउन राजनीतिक नेतृत्वकै दूरदृष्टि आवस्यक पर्छ जुन हामीले अहिले पनि देशभित्र खोजिरहेका छौँ ।
अहिले नै पनि देशमा युवाहरुका नयाँ नयाँ भिजनहरुमा पर्याप्त लगानीका अवसरहरुले प्रतिक्षा गरिरहे जस्तो देखिन्छ । वित्तिय क्षेत्रमा अत्यधिक तरलता छ र ब्याजदर निकै तल झरिसकेको छ । यो समय भनेको युवाहरुले आफ्ना प्रारम्भिक स्टार्टअपहरुमा लगानी गर्न उपयुक्त मौका पनि हो ।
तर, किन युवाहरू सस्तो ब्याजमा लगानी जुटाएर आफ्ना आईडियाहरुलाई कार्यान्वयन गर्न उत्साहित बनिरहेका छैनन् ? राजनीतिले हेरिदिनुपर्ने यहिनिर हो । यूरोप र अमेरिकामा नयाँ नयाँ विजनेशमा लगानी गरिरहेका नेपाली युवाहरु किन देशभित्र आफ्ना आईडिया कार्यान्वयन गर्ने अवसरको सदुपयोग गर्न हिच्किचाईरहेका छन् ? हामीले ध्यान दिनुपर्ने यसतर्फ हो ।

यो समयमा सरकारले नीजि क्षेत्रलाई विश्वासमा लिएर लगानीका लागि प्रोत्साहन गर्नुपर्छ ताकी वित्तिय क्षेत्रमा बग्दै गरेको तरलता व्यवस्थापन गर्न सकियोस् र देशभित्र लगानीको दायरा फराकिलो बन्दै जाओस् । ब्याजदर घटे पनि उद्यमी व्यावसायीहरु ऋण लिन उत्सुक छैनन् । सायद, यसको कारण असुरक्षा भय हुन सक्छ । वा भविष्यमा लगानीको सुरक्षाको प्रश्न पनि भित्रभित्रै गुम्सिएको हुनसक्छ । त्यसैले निजी क्षेत्रलाई सहयोग गर्ने, उद्यमशीलतालाई सम्मान गर्ने र आत्मविश्वास जगाउने दृष्टिकोण राज्यको प्राथमिकतामा देखिनु आवस्यक छ जसले लगानीकर्तामा भरोसा बढ्न सकोस् ।
नेपालमा प्राय: अवसरका तुलनामा अवरोधहरूलाई तेस्र्याउने प्रचलन छदैछ । कतिपय क्षेत्रमा त ढोका नै बन्द गरिन्छ । कतै नियतको समस्या देखिन्छ, कतै माफियागिरीले उद्यमशीलता दबाउने काम गर्छ । यसको एउटा ज्वलन्त उदाहरण हो– चौधरी ग्रुपलाई टेलिकम क्षेत्रमा रोक्नु । टेलिकम क्षेत्रमा प्रवेशका लागि हामीले १२ वर्षसम्म अनुमति नपाएको अनुभवले हामीलाई ठूलो पाठ पनि सिकाएको छ —आर्थिक समृद्धि नबुझ्ने नेतृत्व हुँदा देश आर्थिक रुपमा अधोगति लाग्छ भन्ने कुरा ।
दुई–तिहाइको सरकार र राजनीतिक स्थिरता हुँदा पनि आर्थिक संरचनागत समस्या सम्बोधन हुन नसक्नु आफैंमा गम्भीर बिषयहरु थिए । अब हामीलाई नीति पढ्ने मात्रै होइन, आर्थिक विकासको सहि व्यवस्थापन गर्न सक्ने नेतृत्व पनि आवश्यक छ भन्ने अनुभव गराएको छ जसले राष्ट्रमा नतिजा दिने गरि विकास परियोजनाहरुमा काम गरोस् । आजको दिनमा फेरी के पनि बुझ्न जरुरी छ भने स्टण्ट गर्नु र काममा रिजल्ट निकाल्नु भनेका विल्कुल फरक कुरा हुन् । स्टण्टले एकैछिन काम गरेको जस्तो भ्रम मात्रै दिन्छ तर सहि व्यवस्थापकले राष्ट्रलाई अर्को तहमा पुर्याउने गरि स्थापित गर्दछ ।

नेपालमा एउटा गम्भिर समस्या भने देखा परेको छ । देश सञ्चालनको नेतृत्व तहमा रहेका राजनीतिज्ञ हुन् वा ब्यूरोक्रेसी, अपवादलाई छाडेर उनीहरुका छोरानाती विदेशमा छन् । जो नेपालको विकास निर्माणको नेतृत्वमा छन्, उनीहरुलाई यो देश कसरी बनाउने भन्ने हुटहुटी हुनुपर्ने थियो र सोही अनुसार काम गर्नुपर्ने थियो तर अवस्था यस्तो देखिदै छ कि यहाँ आफ्नो हैसियत रहदासम्म हैकम जमाउने र रिटायर्ड हुनासाथ छोरानाती भएको देश जाने ।
आफूलाई यो देशमा बस्नुछैन र आफ्नो नेक्स्ट जेनेरेशन पनि यो देशमा बस्ने होइन भन्ने भएपछि उनीहरुको ध्यान देश निर्माणमा देखिदैछैन । यो प्रवृत्तीतर्फ पनि ध्यान दिनुपर्ने अवस्था छ अन्यथा देशका लागि मरिमेट्नेहरूका लागि यो समूहले अवरोधका रुपमा काम गरिरहनेछ किनकी उसलाई यो देशको भविष्यसँग चिन्ता छैन ।
जेनजी आन्दोलनले देशमा आर्थिक अनिश्चयताको वातावरण देखा पर्यो तर हामीले हाम्रा साझेदारसँगको विश्वासलाई भने गुम्न दिएनौँ । हामीले त्यो घटनालाई प्रतिशोधको आँखाले होइन, जिम्मेवारीका दृष्टिले हेर्यौँ । त्यसैले आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गर्यौं, र त्यो प्रक्रिया कार्यान्वयनमा आई पनि सकेको छ । त्यस्तै नेपालप्रति साझेदारहरुको दृष्टिकोण नकारात्मक बन्नबाट जोगाएरै राख्न सफल भयौँ ।
भदौ २४ को विध्वंसपछि पनि चौधरी ग्रुपले विदेशी साझेदारसहित नेपालमा लगानी गरिसकेका छौँ जसमध्ये नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा शिलान्यास गरिएको बिकाजी स्न्याक्स फ्याक्ट्री एउटा उदाहरण हो । विदेशस्थित साझेदारहरूले प्राय: नेपालको अवस्थाबारे सोध्छन्, र म सधैं भन्ने गर्छु—नेपालजति सम्भावनायुक्त मुलुक संसारमा थोरै मात्र छन् । सही वातावरण बन्यो भने यहाँ लगानीको बाढी आउन सक्छ ।

हामी नेपालको सम्मानलाई विश्वभर कसरी फैलाउन सकिन्छ भनेर पनि कटिवद्ध भएर लागिरहेका छौँ । ज्यागुअर वा ल्यान्डरोभरका उत्पादन भएका देशहरुमा भारतको झन्डा फहराईरहेका हुन्छ ठीक त्यसैगरि हामीले वाइवाइलाई नेपाली झन्डासहित विश्व बजारमा उभ्याएका छौँ । विदेशमा जहाँ वाइवाइको फ्याक्ट्री छ, त्यहाँ नेपाली झण्डा फरफराईरहेका छन् ।
मलाई मेरा उद्यमी साथीहरुले बेलाबखत गुनासो गरिरहनुभएको हुन्छ– नेपालमा पैसा कमाउनु, रोजगारी श्रृजना गर्नुु, कर तिर्नु के अपराध हो ? किन हामीमाथि त्यस्तै व्यवहार गरिन्छ भनेर । मैले उहाँहरुलाई भन्ने गरेको छुँ– हामी यस्तो व्यवहारबाट हतोत्साहित हुनुहुदैन । जब नयाँ जेनेरेशनले देश विकासको आधार भनेकै देशमा लगानी गर्नु हो र लगानीकर्ताकै कारण देश आर्थिक रुपमा समुन्नत बन्नेछ भन्ने कुरा बुझ्नेछन् त्यो दिन उद्यमी व्यावसायीहरु पनि सम्मानीत हुने आउँनेछ । मलाई लाग्छ, शिक्षामा अब्बल बन्दै गएको नयाँ पुस्ता यो कुरा धेरैहदसम्म बुझिसकेको छ ।
हामीले गरेका काम, भोगेका चुनौती, बनाएका योजना र देखेका सपनाहरू सबै एउटै निष्कर्षमा आएर टुङ्गिन्छन्— नेपालको आर्थिक समुन्नती । त्यसका लागि निजी क्षेत्रलाई साझेदार मान्ने, युवालाई मार्गदर्शन गर्ने, आर्थिक संरचनालाई स्पष्ट बनाउने र देशलाई स्थिर दिशा दिने सक्षम राजनीतिक नेतृत्व अब देशले पाउनेछ भन्ने हामीले विश्वास गर्नुपर्छ । यो अवस्थामा नेपालले गरेको आर्थिक तरक्की हामीले आफ्नै आँखाले देख्न पाउँनेछौँ ।
(सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक चौधरीको यो लेख ‘सेजन स्मारिका २०८२’ बाट लिइएको हो ।)
अर्थ चौतारी ।