काठमाण्डौ । नागढुंगा–मुग्लिन सडक योजनाअन्तर्गत पश्चिम खण्ड अर्थात् तेस्रो प्याकेज मलेखु–मुग्लिन सडक विस्तार आयोजनाको निर्धारित म्याद सकिएको छ । सम्झौताअनुसार काम सम्पन्न नभएपछि आयोजनाले म्याद थपको प्रक्रिया अघि बढाएको छ । २०७९ पुस १५ गते भएको ठेक्का सम्झौताअनुसार यो खण्डको निर्माण कार्य २०८२ पुस १५ भित्र सम्पन्न गरिसक्नुपर्ने म्याद थियो । तर, निर्धारित समय सीमाभित्र भौतिक प्रगति मात्र ३५ प्रतिशत पुगेको छ ।
कुल ३८.८६ किलोमिटर लम्बाइ रहेको यो सडक खण्ड ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँको लागतमा निर्माण गर्ने गरी शर्मा–जेडआईसीजी जेभीले ठेक्का पाएको थियो । आयोजनाका सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रका अनुसार सुरुवाती चरणमा विभिन्न प्राविधिक तथा प्रशासनिक समस्याका कारण काममा ढिलाइ भएको हो । ‘सुरुमा वन क्षेत्रको क्लियरेन्स (रूख कटान), बिजुलीका पोलहरू सार्ने काम र सडकको डिजाइनमा देखिएका केही त्रुटिहरूका कारण लक्ष्यअनुसार प्रगति हुन सकेन,’ इन्जिनियर मिश्रले भने,‘यी विविध कारणले काम सम्पन्न हुन नसकेपछि म्याद थप्न पाइन्छ ।’
अहिले ती समस्याहरू समाधान भएर निर्माण कार्यले तीव्रता पाएको पनि उनले बताए । तर काम समयमै नसकिने देखिएपछि परामर्शदाताले आयोजनालाई एक वर्षको म्याद थप गर्न सुझाव दिएका छन् । सोही सुझावका आधारमा विभागमार्फत म्याद थपको प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । करिब एक वर्ष समय थप गरिने निश्चित भएको इन्जिनियर मिश्रले बताए । यस सडक खण्डमा कुल ६ वटा नयाँ पुलहरू निर्माणाधीन छन्, जसमध्ये ४ वटा पुलको ‘डेक स्ल्याब’ ढलानको काम सम्पन्न भइसकेको छ । ती पुलहरूमा अब पहुँच सडक (एप्रोच रोड) निर्माणको काम मात्र बाँकी छ । बाँकी दुईवटा पुलको पनि ‘पाइल’ र ‘अबुटमेन्ट’ निर्माणको काम भइरहेको छ ।
सडकको मुख्य खण्डतर्फ करिब डेढ किलोमिटर क्षेत्रमा कालोपत्रे (डीबीएम) को बेस निर्माणको काम भइरहेको छ । यसका साथै नाला निर्माण, सुरक्षा पर्खाल लगाउने र अन्य स्ट्रक्चरका कामहरूलाई पनि सँगसँगै बढाइएको छ । यद्यपि हालसम्म ३५ प्रतिशत मात्र काम सकिएको र थपिएको एक वर्षभित्र बाँकी ६५ प्रतिशत काम सक्नुपर्ने चुनौती निर्माण कम्पनीसामु छ ।
पृथ्वी राजमार्गको अत्यन्तै व्यस्त यो खण्ड विस्तार भएपछि राजधानी प्रवेश गर्ने र बाहिरिने सवारी साधनका लागि यात्रा सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ । आयोजनाले म्याद थप भएपछि कामलाई अझ द्रुत गतिमा अघि बढाउने प्रतिबद्धता जनाएको छ । हाल यो खण्ड डेडिकेटेड दुई लेनदेखि ६ लेनमा विस्तार भइरहेको छ । कुल सडकमध्ये दुई किलोमिटर ६ लेनमा, ७ किलोमिटर चार लेन, २.३३ किलोमिटर ३ लेन र २७.५३ डेडिकेटेड दुई लेनमा विस्तार भइरहेको आयोजनाले जनाएको छ ।
नागढुंगा–मुग्लिन सडक करिब ९५ किलोमिटर दूरी रहेको यो सडक खण्ड तीन वटा प्याकेज छुट्ट्याएर स्तरोन्नति गरिँदै छ । पहिलो प्याकेज नागढुंगा–नौबिसे १२.२६ किलोमिटर, दोस्रो नौबिसे मलेखु ४३.५४ किलोमिटर र तेस्रो मलेखु मुग्लिन ३८.८६ किलोमिटर छ । पहिलो प्याकेज ८० प्रतिशत भौतिक प्रगति पुगेको छ भने दोस्रो प्याकेज ४६ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ ।