काठमाण्डौ । अभिषेक गिरी पक्राउको विरोधमा मोरङ कारागारमा विरोध भएको छ । कारागारको बी ब्लकमा भएकले कैदीबन्दी गिरी निर्दोष रहेको तुरुन्त रिहा गर भन्दै उनको समर्थनमा प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय प्रमुख, कारागारमा रहेका सुरक्षाकर्मी र जिल्ला प्रहरी कार्यालयका प्रहरी आएर कैदीबन्दीलाई सम्झाउने कार्य भइरहको कारागार प्रमुख राजन घिमिरेले विकासन्युजलाई बताए । उनका अनुसार अहिले अवस्था सामान्य रहेको छ । ‘बी बल्क’का कैदीबन्दीले गिरी निर्दोष रहेको भन्दै आन्दोलन गरेका थिए । उनले कैदीबन्दीबाट पैसा लगेका छैनन् जस्ता नारा कैदीबन्दीले लगाएका थिए । कारागारको ‘ए ब्लक’का कैदीबन्दीले हामी अन्यायमा परेको र अनायासै दुःख दिने गरेको उजुरी परेकाले अभिषेक गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ ।
कारागारले गर्मीका लागि कैदीबन्दीलाई लुगा किन्न दिएको पैसासमेत गिरीले लैजाने गरेको कैदीबन्दीको आरोप छ । ‘केही दिनअघि मात्र कैदीबन्दीलाई २५ सय रुपैयाँ दिएको थियो । त्यो पैसासमेत गिरी लगेको उजुरी परेको थियो । कैदीबन्दीलाई दिएको पैसा चेक गर्दा साथमा ५ देखि १ हजार मात्र रहेको थियो,’ उनले भने । कारागारामा कुल कैदीबन्दी १ हजार २०२ जना छन् । ए ब्लकमा ५ सय ४९, बी ब्लकमा ५ सय ४४ र महिला ब्लकमा २ जना नाबालकसहि १ सय ९ जना छन् ।
कैदीबन्दीको भनाइ उदृट्ट गर्दै उनले कैदीबन्दीले बाँकी पैसा परिवारलाई दिएको बताए । पटक-पटक गरेर गिरीले दुःख दिएको उजुरी परेपछि उनलाई प्रहरीले खोजेको थियो । कारागारमा ‘ए ब्लक र बी ब्लक’ रहेको छ । दुई ब्लकमा पुरुष कैदीबन्दी र एक ब्लकमा भने महिला कैदीबन्दी मात्र रहेका छन् ।
शनिवार बिहान ४८ वर्षीय गिरीलाई मोरङ जिल्ला प्रहरी कार्यालयको टोलीले घरबाट नियन्त्रणमा लिएको थियो । उनले मोरङ कारागार विराटनगरमा रहेका कैदी बन्दीहरुलाई अनुचित प्रभावमा पारी अवैध रकम असुली गर्ने गरेका थिए ।
अवैध रकम असुली गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्र कुमार मिश्रले जानकारी दिए ।
गिरीले कुनै समय मोरङ तथा पुर्वी नेपालमा गुण्डागर्दी पहिचान बनाएका थिए । पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा आवद्ध छन् । गिरी फाउण्डेसनमार्फत समाजसेवा पनि गर्दै आएका थिए । खोलाको क्रसर तथा विभिन्न ठेक्कामा उनले हात हालेका थिए । यसअघि सम्पत्ति शुद्धीकरणमा समेत तानिएका थिए । पछि विशेष अदालतबाट उनले सफाइ पाएका थिए ।
अर्थ चाैतारी ।