काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन क्षेत्रलाई ‘उद्योग’ को रूपमा मान्यता दिए पनि व्यवहारमा भने उद्योगसरहको सुविधा नदिइएको बताएका छन् । सोमबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले औद्योगिक व्यवसाय ऐनले तोकेका सुविधाहरूबाट पर्यटन व्यवसायीहरू वञ्चित रहेको उल्लेख गरेका हुन् ।
वर्तमान कानुनमा रहेका यस्ता जटिलतालाई परिमार्जन गरी पर्यटन उद्योगलाई सहज बनाउनुपर्नेमा उनले जोड दिए । मन्त्री सिन्हाका अनुसार हाल नेपालका होटलहरू ८० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटकले भरिएका छन् ।
आन्तरिक पर्यटनलाई अझै व्यवस्थित र सुविधाजनक बनाउन सके यसले अर्थतन्त्रमा ठुलो योगदान दिने उनको भनाइ छ । पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटनमा हुने खर्चलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत राखेर कर मिनाहा गरिदिन माग गरेको मन्त्री सिन्हाले जानकारी दिए । यस्तो व्यवस्था गर्न सके आन्तरिक पर्यटन थप फस्टाउने र व्यवसायीलाई राहत पुग्ने उनको विश्वास छ ।
पर्यटन क्षेत्रमा देखिएका विविध नीतिगत समस्या र कानुनी अड्चनलाई सम्बोधन गर्न मन्त्रालयले एकीकृत विधेयक ल्याउने तयारी गरिरहेको मन्त्री सिन्हाले बताए । हालको कानुनले पर्यटन क्षेत्रलाई उद्योगको परिभाषामा समेटे पनि औद्योगिक लाभ र सहुलियत दिन नसकेकाले नयाँ कानुनमार्फत यी सबै विषयलाई एकीकृत रूपमा समेटिने उनले प्रष्ट पारे ।
अर्थ चौतारी ।