काठमाण्डौ । बंगलादेशको मयमनसिंह जिल्लामा रहेको कपडा कारखानाभित्र एक हिन्दु कामदारको गोली हानी हत्या गरिएको छ। यो बंगलादेशमा १२औँ दिनमा हिन्दुको तेस्रो हत्या हो।
घटना स्थानीय समयअनुसार सोमबार साँझ ६:४५ बजे भालुका उपजिल्लामा रहेको सुल्ताना स्वेटर लिमिटेड कारखानामा भएको हो। मारिएका व्यक्ति कारखानामै कार्यरत सुरक्षा गार्ड ४२ वर्षीय बजेन्द्र विश्वास हुन्।
प्रहरीले हत्या अभियोगमा २९ वर्षीय नोमान मियालाई पक्राउ गरेको छ।
प्रहरी र प्रत्यक्षदर्शीका अनुसार दुवै कारखानामा सुरक्षा ड्युटीमा थिए। कुराकानीमा क्रममा नोमान मियाले बजेन्द्रलाई सरकारले जारी गरेको बन्दुक तेर्स्याए। बन्दुक पड्कियो र बजेन्द्रको बायाँ तिघ्रामा गोली लाग्यो अनि उनको मृत्यु भयो।
बंगलादेशमा दुई हप्ताभित्र ३ हिन्दुको हत्या
यसघि डिसेम्बर २४ बुधबार राति ११ बजे एक हिन्दु युवकलाई कुटपिट गरी हत्या गरिएको थियो। घटना राजबारी जिल्लाको होसेन्डाङ्गा गाउँमा भएको हो। प्रहरीका अनुसार मृतक २९ वर्षीय अमृत मण्डल उर्फ सम्राट हुन्।
प्रहरीले अमृतलाई जबरजस्ती चन्दा असुलीको आरोपमा भिडले हत्या गरेको बताएको छ। उनी होसेन्डाङ्गा गाउँका बासिन्दा थिए। प्रहरीले अमृतविरुद्ध पाङ्सा प्रहरी चौकीमा दुई मुद्दा दर्ता भएको बताएको छ, जसमा एउटा हत्यासम्बन्धी पनि छ।
यसअघि डिसेम्बर १८ मा ढाकानजिकै हिन्दु समुदायकै युवक दिपु चन्द्र दासको भिडले हत्या गरेको थियो। मारेर पनि उनलाई रूखमा झुन्ड्याएर जलाइएको थियो।
अर्थ चौतारी ।