logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • बीमा सुपरिवेक्षण थप बलियो बनाउने आईएआईएसको विश्वव्यापी योजना

    बीमा सुपरिवेक्षण थप बलियो बनाउने आईएआईएसको विश्वव्यापी योजना

    1K
    SHARES
    बीमा सुपरिवेक्षण थप बलियो बनाउने आईएआईएसको विश्वव्यापी योजना

    काठमाण्डौ । विश्वभरको बीमा क्षेत्रलाई सुरक्षित, स्थिर र विश्वासिलो बनाउने उद्देश्यसहित इन्टरनेसनल एसोसिएसन अफ इन्स्योरेन्स सुपरभाइजर्स (आईएआईएस) ले आफ्नो नयाँ रणनीतिक दस्तावेज ‘आइएआईएस रोडम्याप २०२६।२७’ सार्वजनिक गरेको छ। उक्त रोडम्यापले आगामी दुई वर्षमा बीमा सुपरभिजन कसरी थप सुदृढ, जोखिम–संवेदनशील र भविष्य–उन्मुख बनाइनेछ भन्ने स्पष्ट दिशा देखाएको छ।



    आईएआईएसका अनुसार विश्वव्यापी बीमा बजारमा देखिएका नयाँ जोखिम, डिजिटल परिवर्तन, जलवायु संकट र पुँजी संरचनामा आएको परिवर्तनलाई ध्यानमा राख्दै सुपरभिजन प्रणालीलाई समयसापेक्ष बनाउनु अहिलेको आवश्यकता हो।

    बीमा बजारका जोखिम पहिचानमा थप कडाइ

    नयाँ रोडम्यापअनुसार आईएआईएसले विश्वव्यापी बीमा बजार अनुगमन (ग्लोबल मोनिटरिङ एक्सरसाइज–जीएमई० लाई अझ सशक्त बनाउने भएको छ। यसमार्फत जीवन बीमा, पुनर्बीमा तथा वैकल्पिक सम्पत्तिमा आधारित लगानीजस्ता क्षेत्रमा बढ्दै गएको संरचनात्मक जोखिमको गहिरो विश्लेषण गरिनेछ। विशेषगरी जीवन बीमा क्षेत्रमा देखिएका नयाँ व्यवसाय मोडेल र जोखिम स्थानान्तरण प्रवृत्तिले दीर्घकालीन वित्तीय स्थायित्वमा पार्न सक्ने प्रभावलाई सुपरभाइजरहरुले पहिल्यै पहिचान गर्न सक्ने वातावरण बनाइने आईएआईएसको भनाइ छ।

     

    बीमा पुँजी मापदण्ड कार्यान्वयनतर्फ ठोस कदम

    आईएआईएस रोडम्यापको अर्को महत्वपूर्ण पक्ष भनेको इन्स्योरेन्स क्यापिटल स्ट्यान्डर्ड (आईसीएस)लाई व्यवहारमा अझ प्रभावकारी बनाउने योजना हो। अन्तर्राष्ट्रिय रुपमा सक्रिय बीमा समूहहरुका लागि पुँजी पर्याप्तता, जोखिम मापन र सार्वजनिक प्रकटीकरणसम्बन्धी मापदण्डलाई थप स्पष्ट र पारदर्शी बनाइनेछ। यसले बीमा कम्पनीहरुलाई मात्र नभएर नियामक संस्थाहरुलाई पनि जोखिम–आधारित सुपरभिजन प्रणाली मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

     

    मानक बनाउने मात्र होइन, कार्यान्वयनको मूल्यांकन पनि

    आईएआईएसले अब नीति र मापदण्ड निर्माणमै सीमित नरही ती मापदण्डहरु सदस्य राष्ट्रहरुमा कति प्रभावकारी रुपमा लागू भइरहेका छन् भन्ने कुराको व्यवस्थित मूल्यांकन गर्ने जनाएको छ।

    सन् २०२६ देखि आईसीएस र कम्फ्रेमजस्ता ढाँचाहरुको स्वमूल्यांकन र आधारभूत समीक्षा सुरु गरिनेछ। यसले विभिन्न देशमा बीमा सुपरभिजनको स्तर कस्तो छ भन्ने स्पष्ट तस्बिर दिनेछ।

     

    जलवायु, डिजिटल र साइबर जोखिममा विशेष ध्यान

    रोडम्याले तीन रणनीतिक प्राथमिकतालाई केन्द्रमा राखेको छ।

    • जलवायु परिवर्तन र प्राकृतिक विपद् जोखिम
    • डिजिटल नवप्रवर्तन र साइबर सुरक्षा
    • बीमाको सामाजिक र आर्थिक भूमिकालाई सुदृढ बनाउने

    यी विषयलाई अब बीमा सुपरभिजनको ‘मुख्य एजेन्डा’का रुपमा अगाडि बढाइने आईएआईएसले स्पष्ट पारेको छ।

     

    विकासशील देशहरुका लागि अवसर

    आईएआईएसले विकासशील र उदीयमान अर्थतन्त्र भएका देशहरुका लागि क्षमता निर्माण, तालिम, गाइडलाइन र अनुभव आदान–प्रदान कार्यक्रमलाई थप विस्तार गर्ने जनाएको छ।

    नेपाल जस्ता देशका नियामक निकाय र बीमा उद्योगका पेशेवरहरुका लागि यो रोडम्याप अन्तर्राष्ट्रिय अभ्याससँग आफूलाई जोड्ने महत्वपूर्ण अवसरका रुपमा देखिएको छ।

     

    नेपालका बीमा क्षेत्रका लागि सन्देश

    विशेषज्ञहरुका अनुसार यो नयाँ रोडम्यापले नेपाली बीमा क्षेत्रलाई पनि जोखिम पहिचान र व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने, अन्तर्राष्ट्रिय मापदण्डअनुसार पुँजी र गभर्नेन्स प्रणाली सुदृढ गर्नुपर्ने र डिजिटल, जलवायु र साइबर जोखिमलाई अब ‘भविष्यको होइन, वर्तमानको चुनौती’का रुपमा लिनुपर्ने स्पष्ट सन्देश दिएको छ।

    समग्रमा यो रोडम्यापले विश्वव्यापी बीमा सुपरभिजनलाई अझ सक्रिय, उत्तरदायी र भविष्य–केन्द्रित बनाउने संकेत दिएको छ। यसको प्रभाव नेपाललगायतका विकासशील बीमा बजारमा क्रमशः देखिने विश्वास गरिएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १३ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट