logo

२०८२ माघ १९, सोमबार

logo
  • २०८२ माघ १९, सोमबार
  • सुध्रियो नेपालको वित्तीय समावेशीकरण सूचकांक, एक वर्षमा ०.४७ बाट बढेर ०.५३ पुग्यो

    सुध्रियो नेपालको वित्तीय समावेशीकरण सूचकांक, एक वर्षमा ०.४७ बाट बढेर ०.५३ पुग्यो

    429
    SHARES
    सुध्रियो नेपालको वित्तीय समावेशीकरण सूचकांक, एक वर्षमा ०.४७ बाट बढेर ०.५३ पुग्यो

    काठमाण्डौ । नेपालमा वित्तीय पहुँच, प्रयोग र सेवाको गुणस्तरमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘वित्तीय समावेशीकरण सूचकांक’ सम्बन्धी प्रतिवेदनमा वित्तीय पहुँच, प्रयोग र सेवाको गुणस्तरमा सुधार देखिएको हो ।



    राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२४/२५ मा नेपालको समग्र वित्तीय समावेशीकरण सूचकांक ०.५३ पुगेको छ । आर्थिक वर्ष २०२३/२४ मा यस्तो सूचकांक ०.४७ मात्रै रहेकोमा एक वर्षमा उल्लेख्य सुधार भएको हो ।

    नेपालमा वित्तीय समावेशीकरणको स्तर र प्रगतिको विस्तृत मूल्यांकन प्रदान गर्ने उक्त प्रतिवेदनले वित्तीय समावेशीकरण सूचकांकमा सुधार भएको देखाएको छ । वित्तीय समावेशीकरण सूचकांकको गणना मानव विकास सूचकांकको गणना विधि जस्तै हुने राष्ट्र बैंकले जनाएको छ ।

    जसमा मानहरू ० देखि १ को स्केलमा मापन गरिन्छ। यसमा उच्च अंकले उच्च वित्तीय समावेशीकरणलाई जनाउँछ। यो सूचकांक तीनवटा आयामहरूमा आधारित ५५ वटा विभिन्न सूचकहरू प्रयोग गरेर तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

    पहुँचका १५ सूचक, प्रयोगका १५ सूचक र गुणस्तरका २५ सूचकहरू समावेश गरी प्रतिवेदन तयार पारिएको केन्द्रीय बैंकले जनाएको छ । सूचकांकको प्रत्येक आयामको विशिष्ट भार निर्धारण गरिएको छ । पहुँचलाई ३५ प्रतिशत, प्रयोगलाई ४५ प्रतिशत र गुणस्तरलाई २० प्रतिशत भार दिइएको छ।

    आर्थिक वर्ष २०२४/२५ मा, समग्र वित्तीय समावेशीकरण सूचकांक ०.४७ बाट बढेर ०.५३ पुगेको हो । जसले वित्तीय सेवामा पहुँच, तिनको प्रयोग र सेवाको गुणस्तरमा भएको क्रमिक र बृहत् सुधारलाई प्रतिविम्बित गर्ने प्रतिवेदनमा उल्लेख छ ।

    सूचकांकका तीनवटै आयामहरूमा उत्साहजनक सुधार देखिएको छ । पहुँच सूचकांक ०.४७ बाट बढेर ०.५३ पुगेको छ । जसले देशभरि वित्तीय संस्थाहरू, सेवा केन्द्रहरू र डिजिटल प्रवाह च्यानलहरूको निरन्तर विस्तार भएको संकेत गर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

    प्रयोग सूचकांक ०.४९ बाट बढेर ०.५४ पुगेको छ । जसले बैंकिङ, डिजिटल भुक्तानी, बिमा र अन्य वित्तीय सेवाहरूमा व्यक्ति र परिवारहरूको बढ्दो संलग्नतालाई झल्काउँछ ।

    गुणस्तर सूचकांकमा उच्च सुधार भएको छ । एक वर्षमा गुणस्तर सूचकांक ०.४१ बाट बढेर ०.५० पुगेको छ । जसले वित्तीय साक्षरतामा भएको अर्थपूर्ण उपलब्धि, सुदृढ ग्राहक संरक्षण संयन्त्र, वृद्धि भएको पारदर्शिता र समग्र ग्राहक अनुभवमा आएको सुधारलाई देखाउने प्रतिवेदनमा उल्लेख छ ।

    यी नतिजाहरूले राष्ट्र बैंक र अन्य सरोकारवालाहरूबाट भएका नीतिगत पहल, डिजिटल वित्तीय नवप्रवर्तन र नियामक उपायहरूको सकारात्मक प्रभावलाई उजागर गर्छ । वित्तीय समावेशीकरणको यो सुधारले मुलुकको समावेशी आर्थिक वृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको प्रतिवेदनमा उल्लेख छ ।

    वित्तीय समावेशीकरण सूचकांकमा प्रगति उल्लेख्य भए तापनि नेपालमा वित्तीय समावेशीकरणलाई अझ सुदृढ गर्न र समावेशी आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउन डिजिटल पूर्वाधारलाई बलियो बनाउनुपर्ने आवश्यकता रहेको औंल्याएको छ । वित्तीय साक्षरता प्रवर्द्धन गर्ने र समावेशी एवं ग्राहक–केन्द्रित वित्तीय सेवाहरू सुनिश्चित गर्ने प्रयासहरू आवश्यक रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।


    अर्थ चाैतारी
  • सोमबार, १९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट