काठमाण्डौ । आजसम्म शेयर किन्नेले एशियन लाइफको प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले लाभांश र सभा प्रयोजनका लागि माघ २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज माघ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
कम्पनीले गत आर्थिक वर्ष२०८१।८२ का लागि हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । जसमा ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (करसहित) छन्।
उक्त प्रस्ताव पारित गर्न कम्पनीलेआफ्नो १८ औँ वार्षिक साधारणसभा आउँदो फागुन ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाराको सिमरास्थित होटल क्लासिकमा दिउँसो १ बजेबाट सुरु हुनेछ।
सभाले बोनस शेयर वितरणपछिको हदसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले समयानुकूल प्रबन्धपत्रमा आवश्यकताअनुसार उद्देश्य थप तथा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट प्राप्त रायसुझाव तथा निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ।
अर्थ चाैतारी ।