काठमाण्डाै । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा तयारीबारे चार सुरक्षा निकायका प्रमुखहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई ब्रिफिङ गरेका छन् ।
मंगलबार बालुवाटारमा भएको ब्रिफिङमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए । सुरक्षा प्रमुखहरुले मंगलबार पानी परेका कारण उच्च हिमाली जिल्लामा हिउँ पर्नसक्ने र त्यसबाट व्यवस्थापनमा असर पर्नसक्ने ब्रिफिङ गरेका छन् । प्रधानमन्त्रीसँगको छलफलमा तराईमा फागुन १९ मा परेको होलीबारे पनि छलफल भएको बैठकमा सहभागी एकजना अधिकारीले बताए।
सुरक्षा निकायका प्रमुखहरूले एकीकृत सुरक्षा योजना अनुसार सुरक्षा रणनीति अघि बढेको उल्लेख गर्दै निर्वाचन बिथोल्ने खालका चुनौती नरहेको निष्कर्ष प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन् । तराईमा होलीको समयमा मदिरा बेचबिखनमा रोक लगाउनेबारे छलफल भएको बैठकमा सहभागी प्रधानमन्त्री कार्यालयका एक जना अधिकारीले रातोपाटीलाई बताए ।
बैठकले चुनावअघि मौसम सफा हुने निष्कर्ष निकाल्दै चिसोका कारण उच्च हिमाली क्षेत्रमा असर नपर्ने निष्कर्ष निकालेको छ । बैठकमा सहभागी एक जना अधिकृत भन्छन्, ‘१ हप्तामा मौसम राम्रो हुने हुनाले त्यसबाट कुनै असर नपर्ने निष्कर्ष निकालिएको छ ।
छलफलमा मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृह सचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, आईजीपी दान बहादुर कार्की सशस्त्रका आईजी राजु अर्याल र मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की उपस्थित थिए ।
प्रधानमन्त्री कार्कीले सुरक्षा रणनीति सन्तोषजनक रहेको उल्लेख गर्दै चुनौतीबारे सचेत रहन निर्देशन दिएकी छन् । सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्री कार्कीले सुरक्षा चुनौती सिर्जना गर्न सक्ने सम्भावित व्यक्ति र समूहको निगरानी गर्न निर्देशन दिएकी हुन् ।
अर्थ चाैतारी ।