logo

२०८२ चैत्र २७, शुक्रबार

logo
  • २०८२ चैत्र २७, शुक्रबार
  • खाडी राष्ट्रका ६ देशमा १२ लाख नेपाली, कुन देशमा कति कामदार ?

    खाडी राष्ट्रका ६ देशमा १२ लाख नेपाली, कुन देशमा कति कामदार ?

    1K
    SHARES
    खाडी राष्ट्रका ६ देशमा १२ लाख नेपाली, कुन देशमा कति कामदार ?

    काठमाण्डौ । खाडी क्षेत्रका छ राष्ट्र समेटिएको खाडी सहकार्य परिषद् (GCC) मुलुकहरूमा करिब ३ करोड ५० लाख विदेशी कामदार बसोबास गर्दै आएका छन्। बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई)मा बस्ने कुल करिब ६ करोड २० लाख जनसंख्यामध्ये आधाभन्दा बढी विदेशी कामदार रहेका विभिन्न अन्तर्राष्ट्रिय तथ्यांकले देखाएका छन्।



    खाडी मुलुकहरू रोजगारीका अवसरका कारण विश्वभरका कामदारका लागि प्रमुख गन्तव्य बनेका छन्। यहाँ विशेषगरी दक्षिण एसियाली मुलुकका नागरिकहरूको ठूलो उपस्थिति रहेको छ। निर्माण, घरेलु सेवा, सुरक्षा, सरसफाइ तथा श्रमप्रधान क्षेत्रदेखि बैंकिङ, वित्त, प्रविधि, इन्जिनियरिङ, उड्डयन, स्वास्थ्य र मिडियाजस्ता उच्च दक्षता आवश्यक पर्ने क्षेत्रमा समेत विदेशी कामदारले महत्वपूर्ण भूमिका खेलेका छन्।

    तथ्यांकअनुसार जीसीसी क्षेत्रमा सबैभन्दा धेरै विदेशी कामदार भारतका छन्। भारतबाट करिब ९१ लाख मानिस खाडी मुलुकमा बसोबास गर्दै आएका छन्। त्यसपछि बंगलादेशका करिब ५० लाख, पाकिस्तानका ४९ लाख, इजिप्टका ३३ लाख, फिलिपिन्सका २२ लाख र यमनका २२ लाख कामदार रहेका छन्। त्यस्तै सुडानका करिब ११ लाख, नेपालका १२ लाख, सिरियाका करिब ६ लाख ९४ हजार र श्रीलंकाका करिब ६ लाख ५० हजार नागरिक पनि खाडी क्षेत्रमा कार्यरत छन्।

    साउदी अरेबिया जीसीसीको सबैभन्दा ठूलो मुलुक हो। यहाँ करिब ३ करोड ७० लाख जनसंख्या रहेको छ, जसमध्ये करिब २ करोड ५ लाख स्थानीय नागरिक र १ करोड ६४ लाख विदेशी बसोबास गर्छन्। साउदी अरेबियामा सबैभन्दा धेरै बंगलादेशी करिब २५ लाख ९० हजार छन्। त्यसपछि भारतीय २३ लाख १० हजार, पाकिस्तानी २२ लाख ३० हजार, यमनी २२ लाख १० हजार, इजिप्टेली १८ लाख तथा सुडानी करिब १० लाख रहेका छन्।

    संयुक्त अरब इमिरेट्स जीसीसीको दोस्रो ठूलो जनसंख्या भएको देश हो। यहाँ करिब १ करोड १३ लाख मानिस बस्छन्। तीमध्ये स्थानीय नागरिक मात्र करिब १२ प्रतिशत छन् भने विदेशी कामदार करिब ८८ प्रतिशत छन्। यूएईमा भारतीय नागरिक करिब ४३ लाख ६० हजार छन्। त्यसपछि पाकिस्तानी १९ लाख, बंगलादेशी ८ लाख ४० हजार, फिलिपिनो ७ लाख ८० हजार, इरानी ५ लाख ४० हजार र इजिप्टेली करिब ४ लाख ८० हजार रहेका छन्।

    कुवेतमा करिब ४८ लाख जनसंख्या रहेको छ। यहाँ १५ लाख ६० हजार कुवेती नागरिक र करिब २१ लाखभन्दा बढी विदेशी कामदार छन्। कुवेतमा भारतीय करिब १० लाख, इजिप्टेली ७ लाख, बंगलादेशी ३ लाख ५० हजार, फिलिपिनो २ लाख ५० हजार, पाकिस्तानी २ लाख तथा नेपाली करिब १ लाख २० हजार रहेका छन्।

    ओमानमा करिब ४७ लाख जनसंख्या छ। तीमध्ये करिब २५ लाख नागरिक र २० लाखभन्दा बढी विदेशी कामदार छन्। यहाँ भारतीय करिब ७ लाख ६६ हजार, बंगलादेशी ७ लाख १८ हजार, पाकिस्तानी २ लाख ६८ हजार, इजिप्टेली करिब ४६ हजार तथा फिलिपिनो करिब ४५ हजार रहेका छन्। कतारमा करिब ३२ लाख जनसंख्या छ, जसमध्ये करिब २८ लाख ७० हजार विदेशी कामदार रहेका छन्। यहाँ भारतीय करिब ७ लाख, बंगलादेशी ४ लाख, नेपाली ४ लाख, इजिप्टेली ३ लाख, फिलिपिनो २ लाख ३६ हजार र पाकिस्तानी करिब १ लाख ८० हजार छन्।

    सबैभन्दा सानो जनसंख्या भएको बहराइनमा करिब १५ लाख ८० हजार मानिस बस्छन्। यहाँ भारतीय करिब ३ लाख ५० हजार, बंगलादेशी १ लाख ५० हजार, पाकिस्तानी १ लाख २० हजार, फिलिपिनो ८० हजार, इजिप्टेली ६० हजार र नेपाली करिब ३५ हजार रहेका छन्। खाडी मुलुकहरूको अर्थतन्त्र र पूर्वाधार विकासमा विदेशी कामदारको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ। विशेषगरी दक्षिण एसियाली कामदारले निर्माण तथा सेवा क्षेत्रमा ठूलो योगदान पुर्‍याउँदै आएका छन्।


    अर्थ चाैतारी
  • मंगलबार, २६ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट