काठमाण्डौ । इरानविरुद्धको सैन्य कारबाहीमा संलग्न अमेरिकी वायुसेनाको विमान इराकमा दुर्घटनाग्रस्त हुँदा चालक दलका ६ सदस्यको मृत्यु भएको छ। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले बिहीबार भएको उक्त दुर्घटनामा ज्यान गुमाउने सैनिकहरूको नाम आइतबार सार्वजनिक गरेको हो।
पेन्टागनका अनुसार मृत्यु हुनेमा अलाबामाका जोन क्लिनर (३३), वासिङ्टनकी एरिना साभिनो (३१), केन्टुकीकी एस्ले प्रुएट (३४), इन्डियानाका सेथ कोभल (३८) तथा ओहायोका कर्टिस एङ्ग्स्ट (३०) र टायलर सिम्पन्स (२८) छन्। ज्यान गुमाउनेमध्ये तीन जना वायुसेनाका सक्रिय अधिकारी र बाँकी तीन जना ‘नेसनल गार्ड’ का सदस्य हुन्।
आकाशमै ठोक्किएको आशंका दुर्घटनाको कारणबारे आधिकारिक पुष्टि भइनसके पनि दुई विमान आकाशमै एकापसमा ठोक्किएको हुन सक्ने प्रारम्भिक अनुमान छ। अमेरिकी अधिकारीहरूले सीबीएस न्युजलाई दिएको जानकारीअनुसार प्राविधिक कारण वा मानवीय त्रुटिका कारण विमान ठोक्किएको हुन सक्छ।
यसअघि अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकल) ले विमान खस्नुमा शत्रु पक्षको आक्रमण वा कुनै बाह्य प्रहारको भूमिका नरहेको दाबी गरेको थियो।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि दुई साताको अवधिमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १३ पुगेको छ । इराकमा भएको यसै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने कुवेतमा ६ र साउदी अरबमा एक सैनिकको मृत्यु भइसकेको छ।
यस युद्धका क्रममा अमेरिकाले हालसम्म कम्तीमा चारवटा सैन्य विमान गुमाइसकेको छ। मार्चको सुरुतिर कुवेतको आकाशमा ‘फ्रेन्डली फायर’ का कारण तीनवटा एफ-१५ लडाकु विमान खसेका थिए।
अर्थ चाैतारी ।