काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष पदमा आफ्नै प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ नियुक्ति गर्नु गलत भएको अन्तरिम सरकारकै पूर्वमन्त्री महावीर पुनले टिप्पणी गरेका छन्।
कोषका संरक्षकसमेत रहेकी प्रधानमन्त्री कार्कीले आइतबार श्रेष्ठलाई आगामी ५ वर्षका लागि उक्त पदमा मनोनयन गरेकी हुन्। तर नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पुनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री इज्जत धुलोमा नमिलाउने भए आर्दशलाई त्यो पद नलिन आग्रह गरेका छन्।
‘प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई गरेको नियुक्ति १०० प्रतिशत गलत हो’, उनले लेखेका छन्, ‘आर्दश भाइ, प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाको खातिर त्यो पद नलेऊ। त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनुभएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाइदेऊ। यस्तै किसिमको नातावाद, चाकरीबाज, कृपावाद, चापलुसीवादले पुराना दलहरू खत्तम भए। यही पाराले काम गर्ने हो भने नयाँ दलहरू पनि कालान्तरमा मासिन्छन्। होसियार गर्ने म छु। त्यो नियुक्ति अब आउने सरकारले बुद्धि पुऱ्याएर गरोस्।’
त्यसो त प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याललाई पनि रिक्त राष्ट्रियसभा सदस्य पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छन्।
अर्थ चाैतारी ।