logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • चर्को विरोधपछि गभर्नर पौडेलले गरे ८ निर्देशकको बढुवा

    चर्को विरोधपछि गभर्नर पौडेलले गरे ८ निर्देशकको बढुवा

    208
    SHARES
    चर्को विरोधपछि गभर्नर पौडेलले गरे ८ निर्देशकको बढुवा

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले कर्मचारीको चर्को विरोध र कालो ब्यानरको दबाबपछि अन्ततः ८ जना निर्देशकको बढुवा गरेका छन् । वार्षिकोत्सवका अवसरमा कर्मचारीहरूले गभर्नरको कार्यशैलीप्रति आक्रोश पोख्दै कार्यक्रम नै बहिष्कार गरेपछि दबाबमा परेका पौडेलले आजै ८ जना उपनिर्देशकलाई निर्देशक (अधिकृत प्रथम) पदमा बढुवा गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।



    गभर्नर पौडेल अमेरिका भ्रमणबाट फर्केलगत्तै सोमबार बैंकको ७१ औं वार्षिकोत्सवमा कर्मचारी संघका पदाधिकारीहरूले मूल ढोकामै कालो ब्यानर झुण्ड्याएर उनको ‘गैरजिम्मेवार व्यवहार’ विरुद्ध नाराबाजी गरेका थिए ।

    सोही विरोधको भोलिपल्टै बैंकको मानव संसाधन व्यवस्थापन विभागले सम्झना ढकाल, नविना ढकाल, संजीव कुमार झा, सुमन नेउपाने, पुष्पा अधिकारी, मोहन पुडासैनी, कमल प्रकाश कालाथोकी र शिखा अधिकारी (रेग्मी) लाई निर्देशक पदमा बढुवा गरेको सूचना जारी गरेको छ ।

    हिजोको समारोहमा कर्मचारीले गर्न सक्ने सम्भावित विरोध र कालो ब्यानरको दृश्य मिडियामा नआओस् भन्नका लागि गभर्नर पौडेलले निजी क्षेत्रका सञ्चारमाध्यमलाई कार्यक्रम स्थलमा प्रवेशमा पूर्ण बन्देज लगाएका थिए । आफ्नो आलोचना लुकाउन सरकारी मिडियालाई मात्र बोलाएर निजी सञ्चारमाध्यममाथि बन्देज लगाउने गभर्नरको कदमलाई बैंकभित्रै अनुदार र अधिनायकवादी शैली भन्दै आलोचना भइरहेको छ ।

    लामो समयदेखि बढुवा रोकेर कर्मचारीलाई बिचल्ली पारेको आरोप खेपिरहेका गभर्नर पौडेलले चौतर्फी दबाबपछि मात्र यो निर्णय लिएका हुन् । माघदेखि निर्वाचन आचारसंहिता र पदाधिकारीको विदेश भ्रमणका नाममा रोकिँदै आएको यो प्रक्रिया हिजोको कालो ब्यानर प्रदर्शनपछि मात्र टुङ्गोमा पुगेको हो ।


    अर्थ चाैतारी
  • बुधबार, १६ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट