काठमाण्डौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले निर्वाचन परिणामले साना,मझौला घरेलु उद्योगी व्यवसायी उत्साहित भएको जनाएको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै विगतका गठबन्धन सरकारहरू, मन्त्री फेरिएपिच्छे परिवर्तन हुने नीति, र कर्मचारीतन्त्रमा देखिएको जबाफदेहिताको अभावबाट आजित भएका उद्योगी–व्यवसायीहरू अबको ५ वर्ष एउटै पार्टीको स्थिर सरकार बन्ने सुनिश्चित भएपछि निकै उत्साहित बनाएको बताएको छ ।
निर्वाचनबाट रास्वपाले झन्डै दुई तिहाइ ल्याएको छ । करिब दुई तिहाइ बहुमत सहितको ५ वर्षे स्थिर सरकार बनाउने सुनिश्चित भएसँगै आम जनता र मुलुकको निजी क्षेत्रमा ठुलो उत्साह छाएको जनाएको हो । करिब दुई तिहाइ जनमतसहित नयाँ सरकार बनाउन लागेको रास्वपालाई महासंघले बधाई दिँदै नयाँ सरकारको स्वागतका लागि आतुर रहेको बताएको छ।
राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज श्रेष्ठले स्थायी सरकार बन्न लागेकाले आफूहरू खुसी भएको बताए । मुलुकमा स्थायी सरकार आउनु आर्थिक विकासको बाटो खोलिनु जस्तै भएको भन्दै उनले खुसी लागेको बताए ।
‘करिब–करिब दुई तिहाइसहितको नयाँ बन्ने सरकारको हामी स्वागत गर्छौ, सहकार्य गर्न पनि तयार छौँ । यो सबैका लागि खुसीको कुरा हो, स्थायी सरकारले मुलुकलाई सही दिशामा अघि बढाउँछ ।’उनले भने
नयाँ सरकारले भन्सार दरबन्दी घटाउने लगायतका कुराहरू सुन्नमा आएको भन्दै अध्यक्ष श्रेष्ठले यसले पनि आफूहरूलाई खुसी लागेको बताए । अब करको दर होइन दायरा बढाएर जानुपर्ने उनको जोड छ ।
उनले आगामी सरकारले साना तथा मझौला उद्योग व्यवसायहरूलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे।
अर्थ चाैतारी ।