काठमाण्डौ । दक्षिण कोरियाले ‘रुट इन्डस्ट्री’ अन्तर्गत वेल्डिङ क्षेत्रका लागि नेपाली कामदार लैजाने प्रक्रिया सुरु गरेको छ। इच्छुक युवाहरूले आज (मंगलबार) देखि चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन्।
इपीएस कोरिया शाखाका अनुसार आवेदन दिने उम्मेदवारहरूले बुटवलस्थित कोरिया–नेपाल बहुप्राविधिक शिक्षालयमा अनिवार्य २४० घण्टाको तालिम लिनुपर्नेछ।
तालिम र भाषा परीक्षाको मोडालिटी
प्रशिक्षार्थीहरूले १२० घण्टा वेल्डिङसम्बन्धी प्राविधिक सीप र १२० घण्टा कोरियन भाषा सिक्नुपर्ने प्रावधान राखिएको छ।
भाषा तालिम: ७५ घण्टा अनिवार्य भौतिक कक्षा र बाँकी ४५ घण्टा पूर्व-अभिमुखीकरणका क्रममा पूरा गर्नुपर्नेछ।
लागत: तालिमको सम्पूर्ण खर्च प्रशिक्षार्थी आफैँले व्यहोर्नुपर्नेछ।
बिना आवास: ५५ हजार ५०० रुपैयाँ
आवाससहित: ८८ हजार रुपैयाँ
कसरी हुन्छ छनोट?
तालिममा मात्र सहभागी भएर पुग्दैन, छनोट हुनका लागि कडा मापदण्ड तय गरिएको छ:
१. तालिममा कम्तीमा ८० प्रतिशत उपस्थिति हुनुपर्ने।
२. अभ्यास परीक्षामा औसत ६० प्रतिशत अंक ल्याउनुपर्ने।
३. भाषा परीक्षामा उच्च अंक ल्याउनेमध्ये उत्कृष्ट ५० जना मात्र अन्तिम योग्यता सूचीमा सूचीकृत हुनेछन्।
योग्यता के चाहिन्छ?
शिक्षा: कक्षा १२ उत्तीर्ण
उमेर: १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको।
कानुनी अवस्था: कुनै पनि देशमा रोजगारीका लागि जान कानुनी अवरोध नभएको।
अर्थ चाैतारी ।