काठमाण्डौ । काठमाण्डौ महानगरपालिका र त्रिभुवन विश्वविद्यालयको कानुन संकायबीच कानुनको तर्जुमा, परिमार्जन र कार्यान्वयनमा सहकार्य गर्ने गरी समझदारी (एमओयू) भएको छ।
काठमाण्डौ महानगरले कार्यान्वयन गरिरहेका कानुनहरूको परिमार्जन तथा कानून तर्जुमा गर्नुपर्ने क्षेत्रहरूको अध्ययन तथा सुझावका लागि दुई पक्षबीच एमओयू भएको हो।
एमओयू कार्यक्रममा बोल्दै महानगरकी कार्यावाहक प्रमुख सुनिता डंगालले स्थानीय सरकारका कामकारबाहीलाई थप व्यवस्थित र कानूनसम्मत बनाउन यो सहकार्य गरिएको जानकारी दिइन्। उनले संविधान र स्थानीय सरकार सञ्चालन ऐनको परिधिभित्र रही निर्माण गरिएका कानुनहरूको प्रभावकारी कार्यान्वयन र विद्यमान कानूनमा रहेका त्रुटिहरू सच्याउन यस सम्झौता महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
उनका अनुसार काठमाण्डौ महानगरले हालसम्म १ सय ६० वटा कानून निर्माण गरी कार्यान्वयन भइरहेका छन्।
उनले भनिन्, ‘हामीले हालसम्म १६० वटा कानुनहरू बनाइसकेका छौँ। ती कानुनहरू परिमार्जन गर्न तथा थप कानुन निर्माणका लागि पनि यस एमओयूले कानुन तर्जुमा गर्नुपर्ने क्षेत्र पनि औँल्याउनेछ भन्ने विश्वास लिएका छौँ। र हामीसँग भएका विद्यमान कानुनहरूको विश्लेषण गर्न पनि जरुरी छ। यस एमओयूले कानुनमा रहेका त्रुटी सच्याउँदै कानुनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने विश्वास पनि लिएका छौँ।’
सम्झौताअनुसार त्रिभुवन विश्वविद्यालयको कानुन संकायले काठमाण्डौ महानगरपालिकाका विद्यमान ऐन, नियम र कार्यविधिहरूको कानुनी परीक्षण गर्दै आवश्यकताअनुसार नयाँ कानुन निर्माणका लागि प्राविधिक काम गर्नेछ।
अर्थ चाैतारी ।