logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • राष्ट्रसंघ र विश्व बैंकमा काम गरेका, दातृ निकायले चिनेका अर्थमन्त्री

    राष्ट्रसंघ र विश्व बैंकमा काम गरेका, दातृ निकायले चिनेका अर्थमन्त्री

    676
    SHARES
    राष्ट्रसंघ र विश्व बैंकमा काम गरेका, दातृ निकायले चिनेका अर्थमन्त्री

    काठमाण्डौ । निर्वाचनको राप र तापका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एउटा वाक्य पटक–पटक दोहोर्‍याइरहे। त्यो केवल चुनावी नारा मात्र थिएन, एउटा गहिरो राजनीतिक ‘प्लट’ पनि थियो।



    लामिछानेले धेरै पटक सार्वजनिक मञ्चहरूमा आफ्नै छेउमा बसिरहेका डा. स्वर्णिम वाग्लेतिर फर्किएर भनेका थिए, ‘स्वर्णिमजी, अब देशको बजेट लेख्न थाल्नुहोस्।’ रविले यो वाक्य त्यसै बोलेका थिएनन्। यसभित्र दुइटा अर्थ लुकेका थिए– पहिलो, रास्वपाले चुनाव जित्नेमा उनको असाधारण आत्मविश्वास। र दोस्रो, भोलिको सरकारमा अर्थतन्त्रको साँचो कसको हातमा हुनेछ भन्ने स्पष्ट संकेत।

    रविले जनतालाई यो बुझाउन खोजिरहेका थिए कि उनको टिमसँग केवल ‘जोस’ मात्र छैन, देशको अर्थतन्त्रको बाटो बदल्न सक्ने ‘विज्ञता’ पनि साथै छ। भीडका अगाडि जब रविले स्वर्णिमलाई बजेट लेख्न ‘बजेट लेख्न थाल्नुहोस्’ भन्थे, त्यसले मतदाताको मनोविज्ञानमा एउटा छाप छोड्थ्यो– ‘अब काम गर्ने पालो विज्ञको हो।’

     

    विश्वप्रसिद्ध विश्वविद्यालयको शिक्षा, अन्तर्राष्ट्रिय संस्थाको अनुभव
    विश्व बैंकदेखि यूएनडीपीसम्मको अनुभव सँगालेका स्वर्णिमका लागि त्यो केवल एक राजनीतिक आग्रह मात्र थिएन, एउटा ठूलो जिम्मेवारीको पदचाप पनि थियो। आज त्यही ‘बजेट लेख्ने’ निम्तोले स्वर्णिमलाई सिंहदरबारको अर्थ मन्त्रालयको ढोकासम्म पुर्‍याएको छ। हिजो मञ्चबाट फालिएको त्यो एउटा वाक्यले आज नेपालको आर्थिक भविष्यको एउटा नयाँ पाना कोर्न खोज्दैछ। नेपालको अर्थतन्त्र यतिबेला एउटा यस्तो मोडमा छ, जहाँ परम्परागत शैलीको उपचारले मात्र पुग्दैन। सम्भवतः यही बुझेर प्रधानमन्त्री बालेनले ‘विज्ञता’ माथि भरोसा गरेका हुन्।

    अन्तर्राष्ट्रिय जगतले चिनेका र दातृ निकायले पत्याएका नाम हो– डा. स्वर्णिम वाग्ले। लन्डन स्कुल अफ इकोनोमिक्सदेखि हार्वर्ड र अष्ट्रेलियाली नेसनल युनिभर्सिटीसम्मको उनको प्राज्ञिक यात्रा जति लोभलाग्दो छ, कार्यक्षेत्र उत्तिकै फराकिलो। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको एसिया प्यासिफिक प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गर्दा उनले विश्वका धेरै उदीयमान अर्थतन्त्रलाई नजिकबाट नियालेका छन्।

    तर, वाग्लेको परीक्षण विदेशमा होइन, स्वदेशमै भएको थियो– २०७२ को महाभूकम्पपछि। विपद् पछिको आवश्यकता मूल्यांकन (पीडीए) को नेतृत्व गर्दै उनले पुनर्निर्माणका लागि ४ अर्ब अमेरिकी डलरको प्रतिबद्धता जुटाउन जुन भूमिका खेले, त्यसले उनको ‘डेलिभरी’ गर्ने क्षमता पुष्टि गरेको थियो।

     

    सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य
    विश्व बैंक र एडिबीजस्ता संस्थासँगको उनको निकटताले नेपालको खस्कँदो वैदेशिक सहायता र लगानीलाई पुनर्जीवन दिने आशा पलाएको छ। वाग्ले केवल एक अर्थशास्त्री मात्र होइनन्, उनी अब रास्वपाको ‘वाचापत्र’ बोकेका राजनीतिज्ञ पनि हुन्। अर्थ मन्त्रालयमा उनको प्रवेशसँगै रास्वपाले चुनावमा गरेका ठूला वाचाहरूको परीक्षण सुरु भएको छ।

    रास्वपाको दर्शन स्पष्ट छ– उत्पादकत्व वृद्धि र निजी क्षेत्रलाई काम गर्ने खुला वातावरण। वाग्लेका अगाडि अब पुराना र झन्झटिला ऐन खारेज गर्ने चुनौती छ, जसले नेपालको ‘डुइङ बिजनेस’ लाई थिचेर राखेका छन्। उनले लिने लक्ष्य सानो छैन– आगामी पाँच वर्षमा औसत ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने।

     

    के १०० अर्ब डलरको अर्थतन्त्र बनाउने उनको सपना सम्भव छ?

    वाग्लेले अर्थतन्त्रको दोस्रो ठूलो खम्बाका रूपमा सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गर्ने तयारी गरेका छन्। मध्यम वर्गीय परिवारका लागि आयकरको सीमा पुनरावलोकन गर्ने र पारिवारिक भारका आधारमा कर छुट दिने उनको योजनाले नागरिकको भान्सासम्मै राहात पुर्‍याउने देखिन्छ।

    त्यति मात्र होइन, वर्षौँदेखि थाती रहेका राष्ट्रिय गौरवका आयोजनालाई दुई वर्षभित्रै सक्ने गरी उनले बनाउने ‘टाइम-बाउन्ड’ कार्ययोजना नै उनको कार्यक्षमताको कडी हुनेछ। सहकारी र लघुवित्तको भद्रगोललाई नेपाल राष्ट्र बैंकको कडा नियमनभित्र ल्याउने उनको कदमले तल्लो तहका नागरिकको बचत सुरक्षामा कस्तो प्रभाव पार्ला? यो हेर्न बाँकी नै छ।

    स्वर्णिम वाग्लेको नियुक्तिले नेपाली राजनीतिमा एउटा नयाँ भाष्य स्थापित गर्न खोजेको छ– ‘जुन काम जसले जानेको छ, उसैलाई जिम्मा दिने।’ अर्थतन्त्रका छिद्रहरू टाल्न र नयाँ जग बसाल्न वाग्लेसँग ज्ञान त पर्याप्त छ, तर कर्मचारीतन्त्र र राजनीतिक स्वार्थका पुराना भित्ताहरू भत्काउन उनी कति सफल हुन्छन्? संसद्मा बजेट पढ्दै गर्दा उनले रवि लामिछानेले भने झैँ ‘स्वर्णिम’ अक्षरमा नयाँ इतिहास लेख्छन् वा पुरानै फाइलहरूको चाङमा हराउँछन्? सिंहदरबारको अर्थ मन्त्रालयमा यतिबेला केवल एक व्यक्ति प्रवेश गरेको छैन, एउटा ठूलो अपेक्षा र आर्थिक रूपान्तरणको सपना पनि सँगै छिरेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट