काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले विगतको भन्दा फरक बजेट ल्याउने बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)को टोलीसँग सोमबार साँझ भएको भेटमा अर्थमन्त्री वाग्लेले ‘हामी बजेटबाट केही फरक सम्बोधन गर्दैछौँ’ भनेका हुन् ।
‘निजी क्षेत्रले खोजेको राजनीतिक स्थिरता प्राप्त भएको छ, अब आर्थिक समृद्धि हासिल गर्नुपर्नेछ’ उनले भने, ‘हामी बजेटबाट केही फरक सम्बोधन गर्दैछौं ।’
उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रमुखी आर्थिक वातावरण बनाउने उनले बताए । निजी क्षेत्रका उद्योगी व्यवसायीहरुलाई इमानदारीपूर्वक उद्योग र व्यापार गर्न आग्रह गर्दै उनले सरकार दिल खोलेरै सहयोग गर्न तयार रहेको पनि बताए ।
‘पहिलो दिन नै हामीले १५ वटा कानुन खारेज गरेर सरकार र हाम्रो पार्टी निजी क्षेत्रप्रति उदार र सहयोगी छ भन्ने सन्देश दिइसकेको छ । हामी उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने हो’ उनले थपे, ‘निजी क्षेत्रका साथीहरू इमानदारीपूर्वक उद्योग र व्यापार गर्नुस् हामी दिल खोलेरै सहयोग गर्छौँ ।’
अर्थमन्त्री वाग्लेले कुनै बहुराष्ट्रिय ठूलो कम्पनी वा त्यसको लगानी भित्र्याएर लगानी मैत्री वातावरण बनाउन पहल थाल्न र सरकारले सबै खाले सहयोग गर्ने बताए ।
अर्थ चाैतारी ।