काठमाण्डौ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि अनिवार्य अवकाशमा गएका छन्। ६५ वर्षे उमेर हदका कारण उनी आजबाट अनिवार्य अवकाशमा गएका हुन् ।
उनको अवकाशसँगै आजदेखि सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशकाको जिम्मेवारी सम्हाल्ने छिन्। प्रधानन्यायाधीश नियुक्त नहुँदासम्म सपनाले नै कामुको जिम्मेवारी सम्हाल्ने छिन् ।
न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गरिसकेको छ । न्यायपरिषद्ले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ। संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने अभ्यास छ ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गर्नु पर्छ । तर अहिले सभामुख, उपसभामुख, प्रमुख विपक्षी दलका नेताको टुंगो नलागेकोले संवैधानिक परिषद्ले पूर्णता पाएको छैन । संवैधानिक परिषद्ले पूर्णता पाएपछि नयाँ प्रधानन्यायाधीश सिफारिस हुनेछन् भने संसदीय सुनुवाइबाट अनुमोदन भएपछि प्रधानन्यायाधीश नियुक्त हुने छन् ।
अर्थ चाैतारी ।