logo

२०८३ जेष्ठ ४, सोमबार

logo
  • २०८३ जेष्ठ ४, सोमबार
  • आर्थिक रूपान्तरणको बजेट ल्याउन महासंघको सुझाव, पुराना ढाँचा तोड्ने अर्थमन्त्रीको प्रतिबद्धता

    आर्थिक रूपान्तरणको बजेट ल्याउन महासंघको सुझाव, पुराना ढाँचा तोड्ने अर्थमन्त्रीको प्रतिबद्धता

    247
    SHARES
    आर्थिक रूपान्तरणको बजेट ल्याउन महासंघको सुझाव, पुराना ढाँचा तोड्ने अर्थमन्त्रीको प्रतिबद्धता

    काठमाण्डाै । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अर्थतन्त्रको संरचनागत सुधार र आर्थिक रूपान्तरण हुने गरी ल्याउन सरकारलाई सुझाव दिएको छ ।



    आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर महासंघको प्रतिनिधिमण्डलले बजेटका लागि औपचारिक सुझाव पेस गरेको हो । महासंघले आगामी बजेटलाई सामान्य वार्षिक दस्तावेज मात्र नबनाई अर्थतन्त्रको वर्तमान मोडेलमै आमूल परिवर्तन गर्ने साधन बनाउन आग्रह गरेको छ ।

    सुझाव ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले आगामी बजेट परम्परागत ढाँचाभन्दा फरक र अर्थतन्त्रको संरचनागत सुधार गर्ने गरी आउने प्रतिबद्धता जनाए । उनले भने, ‘नयाँ जनादेश पाएको सरकारको यो पहिलो पूर्ण बजेट भएकाले यसले पुराना परम्परागत ढाँचालाई तोड्नेछ । आगामी बजेटले अर्थतन्त्रको मोडेलमै रूपान्तरणको जग बसाल्नेछ ।’

    मन्त्री वाग्लेले निजी क्षेत्रको खस्किएको मनोबल र बजारमा घटेको मागप्रति सरकार संवेदनशील रहेको बताउँदै निजी क्षेत्रलाई आशावादी रहन आग्रह गरे ।

    सुझाव पेस गर्दै महासंघका अध्यक्ष अन्जन श्रेष्ठले रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्रले दीर्घकालीन समृद्धि दिन नसक्ने भन्दै उत्पादनमुखी अर्थतन्त्रमा जोड दिए । उनले बर्सेनि कर नीति बदलिने प्रवृत्तिले लगानीकर्ताको विश्वास गुमेको भन्दै अस्थिर अभ्यास अन्त्य गरी ‘एकल राजस्व संहिता’ र ‘अधिकारसम्पन्न राजस्व बोर्ड’ गठनको माग गरे ।

    महासंघले अर्थतन्त्रका निराशाजनक तथ्यांक प्रस्तुत गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष श्रेष्ठका अनुसार हाल मुलुकको औद्योगिक उत्पादन क्षमता ४० प्रतिशतमा सीमित भएको छ भने निर्माण उद्योग इतिहासकै कठिन मोडमा पुगेको छ ।

    त्यस्तै, कुल गार्हस्थ्य पुँजी निर्माणमा निजी क्षेत्रको योगदान विगत चार वर्षमा २८ प्रतिशतबाट घटेर १६ प्रतिशतमा झरेको छ । विगत दुई दशकमा औसत आर्थिक वृद्धिदर ४ प्रतिशत मात्र रहँदा करको वृद्धिदर भने ११ प्रतिशत पुगेको भन्दै महासंघले उच्च करका कारण अनौपचारिक र अवैध व्यापार बढेको गुनासो गरेको छ ।

    अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदा बजार पहुँच गुम्ने जोखिमलाई ध्यान दिँदै निर्यातजन्य उद्योग (कपडा, कार्पेट, गार्मेन्ट आदि) का लागि विशेष नीति ल्याउन महासंघले माग गरेको छ । अध्यक्ष श्रेष्ठले ‘स्वदेशी मन, स्वदेशी भन र स्वदेशी बन’ भन्ने सोचलाई नीतिगत प्राथमिकता दिन अर्थमन्त्रीसमक्ष आग्रह गरे ।


    अर्थ चाैतारी
  • सोमबार, ४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट