काठमाण्डौ । नेपालका १० ठूला वाणिज्य बैंकहरूको कर्जा पोर्टफोलियो समीक्षा (एलपीआर) सकिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार कर्जा पोर्टफोलियो रिभ्यु गरिएका बैंकहरूमा ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक र प्रभु बैंक छन्।
अन्तर्राष्ट्रिय मुद्रा कोषबाट विस्तारित कर्जा सुविधा (ईसीएफ) प्राप्त गर्दा तय गरिएको ‘स्ट्रक्चरल बेन्चमार्क’ अनुसार यी बैंकहरूको एलपीआर गरिएको हो।
यसका लागि राष्ट्र बैंकले परामर्शदाता छनोट गरेको थियो। जसमा उक्त बैंकहरुको कर्जा लगानीको गुणात्मक तथा परिमाणात्मक पक्षको मूल्यांकनका लागि बंगलादेशको हउलादार युनुस एन्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्ससँग राष्ट्र बैंकले २०२५ अगस्ट २८ मा करार सम्झौता गरेको थियो।
मूल्यांकन सकिएसँगै २०८१ चैत मसान्तको वित्तीय विवरणको आधारमा एलपीआरका लागि छनोट भएका उक्त बैंकको औसत निष्क्रिय कर्जा अनुपात ७.६ प्रतिशत र औसत पुँजी पर्याप्तता अनुपात ११.३० प्रतिशत कायम हुन आएको राष्ट्र बैंकले जनाएको छ।
प्राप्त प्रतिवेदनमा औंल्याइएका नीतिगत सुधार सम्बन्धी सुझावहरू क्रमशः कार्यान्वयन गरी बैंक तथा वित्तीय संस्थाहरूलाई थप सवलीकरण गर्दै लैजाने, पहिचान भएका जोखिम न्यूनीकरण गर्दै वित्तीय स्थायित्व कायम गर्न आवश्यक कार्यहरू अगाडि बढाइने बैंकले जनाएको छ ।
अर्थ चाैतारी ।