काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आयोजना गरिएको चौथो ‘सांग्रिला साइकल र्याली’ सम्पन्न भएको छ । विश्व वातावरण दिवस को अवसर पारेर जेठ २३ गते काठमाण्डौमा आयोजना गरिएको उक्त र्यालीमा करिब १५ सय जनाको सहभागिता रहेको थियो ।
काठमाण्डौको गैरीधारास्थित एलिस रिसेप्सनबाट सुरु भएको र्याली नारायणचौर, दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर मण्डल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जैनभवन, नक्साल भगवती र भाटभटेनी हुँदै बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय पुगेर पुनः एलिस रिसेप्सनमै टुंगिएको थियो । करिब १४ किलोमिटर दूरी तय गरिएको उक्त र्यालीले काठमाण्डौका मुख्य सडकहरू समेटेको थियो ।
कार्यक्रममा सहभागीहरूलाई बैंकका सञ्चालक समिति सदस्य लिसा शेरचनले स्वागत गरेकी थिइन् । साथै, लक्की ड्रमार्फत विजेता बनेकी अञ्जु पराजुली लाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ ले साइकल हस्तान्तरण गरेका थिए । कार्यक्रममा अन्य सहभागीहरूलाई पनि लक्की ड्रमार्फत विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
वातावरण संरक्षणका साथै साइकल संस्कृतिको विकास गर्ने उद्देश्यसहित बैंकले २०७९ सालदेखि नियमित रूपमा साइकल र्याली आयोजना गर्दै आएको जनाएको छ ।
बैंकका अनुसार आम नागरिकको विश्वासका आधारमा हाल देशभर १०९ शाखा कार्यालय र ३० एटीएममार्फत सेवा प्रवाह भइरहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ बनाउँदै आगामी दिनमा सेवा विस्तार गर्ने प्रतिबद्धता पनि बैंकले व्यक्त गरेको छ ।
अर्थ चाैतारी ।