logo

२०८३ जेष्ठ ३१, आइतबार

logo
  • २०८३ जेष्ठ ३१, आइतबार
  • बीपी राजमार्गमा रात्रिकालीन गाडी चलाउन रोक, उपत्यका जोड्ने वैकल्पिक मार्गहरू पनि बन्द

    बीपी राजमार्गमा रात्रिकालीन गाडी चलाउन रोक, उपत्यका जोड्ने वैकल्पिक मार्गहरू पनि बन्द

    234
    SHARES
    बीपी राजमार्गमा रात्रिकालीन गाडी चलाउन रोक, उपत्यका जोड्ने वैकल्पिक मार्गहरू पनि बन्द

    काठमाण्डौ । देशका विभिन्न मुख्य तथा सहायक सडक खण्डहरू बाढी, पहिरो र निर्माण कार्यका कारण अवरुद्ध भएका छन् । संघीय राजधानी काठमाडौंलाई पूर्वी र दक्षिणी जिल्लाहरूसँग जोड्ने केही महत्वपूर्ण राजमार्ग तथा सडकहरू बन्द भएपछि यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।



    नेपाल प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार, काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ । सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै अर्को आदेश नभएसम्मका लागि प्रत्येक दिन बेलुका १८:०० बजेदेखि बिहान ०४:०० बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

    यसबाहेक मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नं. २ र ४ स्थित महालक्ष्मी खोला क्षेत्रमा कुलेखानी-फाखेल-हुमाने-फर्पिङ-काठमाडौं सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ । उक्त स्थानमा करिब १०० मिटर सडक ढलान गर्ने कार्य सुरु भएकाले निर्माण नसकिँदासम्म (करिब १ महिना) का लागि बाटो बन्द गरिएको हो । यस खण्ड भई चल्ने सवारी साधनहरूलाई वैकल्पिक मार्गको रूपमा सिस्नेरी-दक्षिणकालीको बाटो हुँदै पठाउने व्यवस्था मिलाइएको छ ।

    यसैगरी काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ०९ देउराली देवीस्थान नजिकै पहिरो खसेपछि सतुङ्गलदेखि मकवानपुरको चित्लाङतर्फ जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यो बाटो मर्मत गर्ने सहमति भएसँगै मर्मत कार्यका लागि यो सडक खण्ड पनि १ महिनाका लागि बन्द गरिएको छ ।

    मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ चित्लाङ क्षेत्रमा थानकोट-चित्लाङ सडक निर्माण तथा सुधार कार्य भइरहेकाले सवारी साधन आवतजावतमा रोक लगाइएको छ । गाडी चल्दा दुर्घटनाको जोखिम बढ्ने र निर्माणमा अवरोध हुने भएपछि पानीघट्टदेखि चित्लाङ बजारसम्म जेठ २९ गतेसम्मका लागि यातायात बन्द गरिएको हो । यात्रुहरूलाई वैकल्पिक मार्गको रूपमा पालुङ-नौबिसे वा मार्खु-कुलेखानी खण्ड प्रयोग गर्न भनिएको छ ।

    वर्षाका कारण लमजुङको मध्यनेपाल नगरपालिका वडा नं. १० बिमिरेभन्ज्याङ स्थित मध्यपहाडी लोकमार्गमा माथिबाट पहिरो खसेको छ । पहिरोका कारण उक्त लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ र बाटो खुलाउने प्रयास भइरहेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले यी सडक खण्डहरू भएर यात्रा गर्नुअघि स्थानीय प्रशासन वा प्रहरीसँग सडकको अवस्थाबारे जानकारी लिन र तोकिएका वैकल्पिक मार्गहरू प्रयोग गर्न अनुरोध गरेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ३१ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट