logo

२०८३ असार १, सोमबार

logo
  • २०८३ असार १, सोमबार
  • ६० करोडको निजी क्रिकेट मैदान तयार, सरकारी रङ्गशाला १४ वर्षदेखि अलपत्र

    ६० करोडको निजी क्रिकेट मैदान तयार, सरकारी रङ्गशाला १४ वर्षदेखि अलपत्र

    377
    SHARES
    ६० करोडको निजी क्रिकेट मैदान तयार, सरकारी रङ्गशाला १४ वर्षदेखि अलपत्र

    काठमाण्डौ । रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्र गतिमा अघि बढिरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आयाम थपेको छ । निजी लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण सम्पन्न हुने चरणमा पुग्दा सरकारी स्वामित्वको सिद्धार्थ क्रिकेट रङ्गशाला भने बजेट अभाव र सुस्त कार्यान्वयनका कारण अझै पूर्ण हुनसकेको छैन ।



    तिलोत्तमा नगरपालिका-१७ पूर्वदरखसवामा अष्ट्रेलियामा व्यवसाय गर्दै आएका विनोद कुँवरको लगानीमा करिब ६० करोड रुपैयाँ लागतमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरिएको हो । ६ बिघा क्षेत्रफलमा फैलिएको उक्त रङ्गशालामा खेलाडी ड्रेसिङ रुम, मिडिया बक्स, भिआइपी बक्सलगायतका संरचना निर्माण भइरहेका छन् ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा रङ्गशालाका ब्राण्ड एम्बेसडर शक्ति गौचनका अनुसार मैदान राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न तयार भइसकेको छ भने अन्य पूर्वाधार विस्तारको काम जारी छ । हाल २ देखि ३ हजार दर्शक अट्ने क्षमता रहेको रङ्गशालालाई आगामी दिनमा १५ देखि २० हजार दर्शक क्षमतामा विस्तार गर्ने योजना रहेको छ ।

    रङ्गशालासँगै आवासीय सुविधासहितको क्रिकेट एकेडेमी सञ्चालन गरी दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसले खेलकुदसँगै पर्यटन तथा स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । लगानीकर्ता पक्षले मैदानसम्म पुग्ने सडक, विद्युत् र अन्य आधारभूत पूर्वाधार निर्माणमा सरकारको सहयोग आवश्यक रहेको बताएका छन् । उनीहरूले रङ्गशाला निर्माणका लागि सरकारी आर्थिक सहयोग नचाहिए पनि पहुँचमार्ग र सार्वजनिक पूर्वाधार विकासमा राज्यको भूमिका आवश्यक रहेको धारणा राखेका छन् ।

    यता, भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्ने योजना भने लामो समयदेखि अलपत्र छ । वि.सं २०६८ मा सुरु गरिएको उक्त परियोजनाको हालसम्म करिब १६ प्रतिशत मात्रै काम सम्पन्न भएको जनाइएको छ । रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाका अनुसार पर्याप्त बजेट विनियोजन नहुनु र बहु वर्षीय योजना अन्तर्गत कार्यान्वयन नगरिनु परियोजना सुस्त हुनुका मुख्य कारण हुन् । हालसम्म करिब १२ करोड रूपैयाँ खर्च भए पनि रङ्गशालाका अधिकांश संरचना निर्माण हुन बाँकी छन् ।

    डीपीआरअनुसार प्रारम्भिक लागत ३८ करोड रूपैयाँ अनुमान गरिएको भए पनि समयसँगै निर्माण लागत बढेकाले अहिले रङ्गशाला सम्पन्न गर्न ७० करोड रुपैयाँ बढी आवश्यक पर्ने अनुमान गरिएको छ । खेलकुद क्षेत्रका सरोकारवालाले क्रिकेटप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सरकारी रङ्गशाला निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । उनीहरूका अनुसार निजी क्षेत्रले देखाएको उत्साह र लगानीले रुपन्देहीलाई क्रिकेटको केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुर्याएको छ भने सरकारी परियोजनाले पनि सोही गतिमा अघि बढ्न आवश्यक छ ।


    अर्थ चाैतारी
  • सोमबार, १ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट