काठमाण्डौ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको शेयरको बोलपत्र खोलिएको छ। बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज बिहीबार लिलाममा परेका आवेदनको शिलबन्दी बोलपत्रहरु खोलेको हो।
क्यापिटलका अनुसार यस लिलामीको शेयरमा २ हजार वटा भन्दा बढी आवेदन परेका थिए। लगानीकर्ताबाट अधिकतम ३५० रुपैयाँसम्मको विड परेको देखिएको छ। यस लिलामीको शेयरको प्रारम्भिक कटअफ मूल्य २९६ रुपैयाँ कायम भएको छ। यद्यपि यो प्रारम्भिक कटअफ मूल्य मात्र रहेको र सबै आवेदन र चेकको भेरिफिकेशनपछि मात्र अन्तिम कटअफ मूल्य तय हुने क्यापिटलले जनाएको छ।
बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २१ देखि जेठ २९ गतेसम्म हकप्रदमा अवितरित शेयर लिलाममा ल्याएको थियो। कम्पनीले हकप्रदमा अवितरित साधारण समुहको ४ लाख ७४ हजार ६ सय ९६ कित्ता शेयर जेठ २१ देखि जेठ २९ गतेसम्म लिलाममा ल्याएको थियो।
कम्पनीले चैत्र २२ देखि वैशाख २८ गतेसम्म १:१ को अनुपातमा हाल कायम चुक्ता पुँजीको शतप्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रदमा बिक्री नभएको ४ लाख ७४ हजार ६ सय ९६ कित्ता शेयर लिलामीमा आएको हो।
नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।
अर्थ चाैतारी ।