logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान

    न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान

    481
    SHARES
    न्यायाधीशको हस्ताक्षर कीर्ते गर्ने अधिकारी जेल चलान

    काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स ‘च्याटजिपीटी’ र ‘डिजी सिग्नेचर’ को दुरुपयोग गरी अदालतको छाप तथा हस्ताक्षर कीर्ते गरेको अभियोगमा पक्राउ परेका २६ वर्षीय विवश अधिकारीलाई काठमाण्डौ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गर्दै जेल पठाउने आदेश दिएको हो ।



    गोरखा घर भई हाल काठमाण्डौको टोखा बस्ने अधिकारीले काठमाण्डौ जिल्ला अदालतको लेटरहेड, छाप र न्यायाधीशहरू मणराम न्यौपाने, बालकृष्ण वाग्ले लगायत स्रेस्तेदार र शाखा अधिकृतहरूको हस्ताक्षर कीर्ते गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। अधिकारीले २०८२ चैत १५ गते ‘मुद्दा पुनः खोल्ने तथा पुनः प्रमाणीकरण सम्बन्धी सूचना’ भन्दै अस्वाभाविक कामका लागि किर्ते कागजात तयार गरेको प्रहरी अनुसन्धानबाट खुलेपछि यही जेठ ३ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलाइएको थियो।

    अधिकारीले बयानका क्रममा आफूले अदालतको फेसबुक पेजबाट लेटरप्याड र हस्ताक्षरको नमुना सङ्कलन गरेको र ‘च्याटजिपीटी’ मार्फत अदालतको भाषामा व्यहोरा मिलाएर ‘डिजी सिग्नेचर’ वेबसाइटबाट हस्ताक्षर कीर्ते गरेको स्वीकार गरेका छन् । उनले ठगी गर्ने उद्देश्यले मुद्दा पुनः सुचारु भएको र पैसा भुक्तानी गर्नुपर्ने भनी झुटो पत्र तयार पारेर विभिन्न व्यक्तिहरूलाई देखाउने गरेका थिए ।

    कपाली तमसुकका लागि किर्ते कागजात तयार पार्न अदालतका शाखा अधिकृत दिपककुमार श्रेष्ठ र शाखा अधिकृत हेमन्त भट्टराईको किर्ते दस्तखत समेत भेटिएको छ । “दाहिनेतर्फ म निवेदक हेमन्त भट्टराईको दस्तखत राखी दस्तखतको मुनि अंग्रेजी अङ्कमा मिति उल्लेख गरी यस अदालतबाट नभए/नगरेको बेहोरा उल्लेख गरी अदालतको छाप तथा दस्तखत किर्ते गरेको देखियो,” शाखा अधिकृत भट्टराईको प्रहरीसमक्ष परेको जाहेरीमा उल्लेख छ ।

    आरोपित अधिकारीबाटै न्यायाधीश वाग्लेको नाम राखेर ‘सेवा शुल्क भुक्तानी गर्ने सम्बन्धमा’ भन्ने व्यहोरा राखेर २०८२ जेठ २४ गतेको सूचना भन्दै किर्ते गरेको भेटिएको छ । काठमाण्डौ जिल्ला अदालतका शाखा अधिकृत हेमन्त भट्टराईले आफ्नो हस्ताक्षर र अदालतको लेटरप्याड कीर्ते भएको फेला पारेपछि प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले अधिकारीलाई पक्राउ गरी उनको साथबाट ‘नथिङ फोन’ र कीर्ते गरिएका कागजातहरू बरामद गरेको थियो।

    काठमाण्डौ माछापोखरीमा व्यापार व्यवसाय गर्ने सन्तोष श्रेष्ठसँग मिलेर व्यवसाय गर्ने प्रयोजनका लागि नजिकको साथी अनिश श्रेष्ठसँग ऋण सापटी रकम लिने चक्करमा लागेर किर्ते गरेको स्वीकारेका छन् ।

    अधिकारीले बयानमा भनेका छन्, “मैले अनिश श्रेष्ठलाई आश्वस्त पार्न र मेरो आमालाई समेत देखाउन च्याटजिपीटी मार्फत काठमाण्डौ जिल्ला अदालतको लेटरप्याड प्रयोग गरी उल्लिखित झुट्टा व्यहोराको कागजातहरू बनाएको हुँ।” उनले अदालतको फेसबुक पेजबाट अदालतको लेटरप्याड र कर्मचारी/न्यायाधीशहरूको हस्ताक्षर को फोटो ‘सेभ’ गरेको बताएका छन्। त्यसपछि ‘क्रप’ गरेर ‘डिजी सिग्नेचर’ भन्ने वेबसाइट र ‘च्याटजिपीटी’ को सहयोगमा व्यहोरा मिलाई नक्कली कागजात तयार पारेको स्वीकार गरेका छन्।

    सरकारी वकिल कार्यालयले अधिकारी विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ बमोजिम ‘लिखत सम्बन्धी कसूर’ मा मुद्दा दायर गरेको थियो। यस कसूरमा दोषी ठहरिए उनलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी प्रावधान छ । अदालतको आदेशसँगै उनलाई केन्द्रीय कारागार चलान गरिएको छ।


    अर्थ चाैतारी
  • विहिबार, ४ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट