काठमाण्डौ । बजेटअघि मुस्ताङ र रसुवा नाकाबाट गाडी आयात भएकोबारे अध्ययन गर्न भन्सार विभागले गरेको अध्ययनले मुस्ताङ कोरला नाकाबाट बजेटअघि आयात भएका गाडीमा गडबडी नभएको देखाएको छ । मुस्ताङ नाकाबाट नेपाल छिरेका गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि यो विषय चर्केको थियो । तर, सोही नाकाबाट भित्रिएका गाडी भन्सार प्रक्रिया पूरा गरी १४ जेठअघि नै नेपाल भित्रिसकेको देखिएको विभागले जनाएको छ ।
तर, रसुवाबाट सवारी आयात गर्दा भन्सारमा भौतिक रूपमा सवारीसाधन आई नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको पुष्टि भएको विभागले जनाएको छ । विभागले गरेको अध्ययनमा प्रज्ञापनपत्र, कार्यालयको अभिलेख लगायत विषय स्थलगत अध्ययन गर्दा रसुवा नाकाबाट भित्रिएका कतिपय सवारीसाधनका हकमा गडबडी भएको पुष्टि भएको जनाएको छ । तर, कति युनिट सवारीसाधनमा गडबडी प्रमाणित भएको हो, त्यो भने विभागले खुलाएको छैन ।
मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीको प्रतिवेदन अनुसार उक्त कार्यालयबाट १२ र १३ जेठमा कुल ६ सय ४९ विद्युतीय सवारीसाधन घोषणा भई ९ वटा प्रज्ञापनपत्र मार्फत जाँचपास प्रक्रिया अघि बढेको पाइएको छ । उक्त टोलीले आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गरेको विभागले जनाएको छ । उल्लेखित ६ सय ४९ वटै विद्युतीय सवारीसाधन १४ जेठ भित्रै नेपाल प्रवेश गरिसकेको र सोही मितिसम्ममा भन्सार कार्यालयबाट नियमानुसार जाँचपास भइसकेको समेत विभागले उल्लेख गरेको छ ।
यसअघि बजेट आउनुभन्दा पहिले नै करको दरका सूचना चुहाएर सवारी आयात गरिएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेको थियो । त्यसैबारे अध्ययन गर्न भन्सार विभागले मुस्ताङ भन्सारका हकमा २१ जेठ र रसुवा भन्सारका हकमा १७ जेठमा छुट्टाछुट्टै अध्ययन समिति बनाएको थियो । अध्ययन टोलीले प्रतिवेदन भन्सार विभागमा बुझाएको अर्थ मन्त्रालयले जनाएको छ
रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गर्ने क्रममा कर्मचारीहरूबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको अनुगमन टोलीको प्रतिवेदनले औँल्याएको छ । अनुगमन टोलीले प्रज्ञापनपत्र, कार्यालयको अभिलेख लगायत विषयमा स्थलगत अध्ययन गर्दा कतिपय सवारीसाधन भन्सारमा भौतिक रूपमा नआइपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको फेला पारेको बताएको छ ।
यसरी कानुनी प्रक्रिया पूरा नगरेको देखिएकाले अर्थ मन्त्रालय र भन्सार विभागले यस्ता कार्यमा संलग्न रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुख सहित १३ कर्मचारीलाई तत्काल निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
त्यस्तै विद्युतीय सवारीसाधन पैठारीकर्ताहरू लक्ष्मी ई-मोबिलिटी, साइमेक्स इन्क, सीजी मोटर्स, पूजा इन्टरनेसनल र पूजा कन्स्ट्रक्सन नेपाल प्रालिलाई कारबाही गर्न रसुवा भन्सार कार्यालयलाई लेखी पठाइएको भन्सार विभागले जनाएको छ । यसैगरी २४८, ८३३ र ४७८ नम्बरका भन्सार एजेन्टहरूलाई समेत कारबाही गर्न रसुवा भन्सार कार्यालयमा लेखी पठाइएको विभागले जनाएको छ ।
अर्थ चाैतारी ।