काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘नबोलौँ भन्छु बोल्ने दिन आइहाल्छ है’ भन्दै आइतबार चितवनको भरतपुरमा आयोजित आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गरे। यस क्रममा उनले विपक्षी दलले व्यापक विरोध गरिरहेको नेपाल-भारत सीमाबारे संसद्मा आफूले दिएको विवादित अभिव्यक्तिबारे स्पष्टीकरण पनि दिने प्रयास गरे।
उनले भने, ‘सीमाको विषयमा पनि चिन्ता व्यक्त गरिएको छ। हामीले सीमाको विषयमा बोल्दा उहाँहरूले आपत्ति जनाउनुभयो। मलाई अचम्म लाग्यो। ठिक छ, तपाईंसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग त प्रमाण छ। हामीसँग कालापानी, लिपुलेकको प्रमाण छ। र, त्यसका लागि पहिले ब्रिटिसहरूले राज गर्दाका प्रमाणहरू हामी ल्याउँछौँ भनेका हौँ। हामीले बिट्रिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ।’
उनले थपे, ‘हामी छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौँ। हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ। त्यो कुरा हामीले गरेका हौँ। यसमा आशंका मान्नुपर्दैन। मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नुपर्दैन, कसैले पनि मान्नुपर्दैन।’ तर विपक्षीले जुन कुराका लागि संसद् नै अवरुद्ध पारेका थिए त्यस विषयमा भने फेरि पनि उनी बोलेनन्।
त्यो हो- ‘नेपालले पनि भारतको जग्गा मिचेको छ।’
तर यस विषयमा आइतबार उनले केही भनेनन्। वास्तवमा उनले सीमाबारे आफ्नो अभिव्यक्तिका विषयमा नेपालको संसद्ले चासो दिएको कुरामा होइन, भारतले प्रश्न उठाएको कुरामा मात्र स्पष्टीकरण दिए।
जसमा भारतले भनेको थियो- द्विपक्षीय मामिलामा कुनै तेस्रो पक्षको प्रवेश स्वीकार गर्दैनौँ।
अर्थ चाैतारी ।