काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासङ्घले विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्नका लागि विशेष परिस्थितिमा म्याद थप गर्न सरकारसँग माग गरेको छ । महासङ्घका प्रवक्ता मंगलबहादुर शाहीले निर्माण क्षेत्रको वर्तमान समस्या निर्माण व्यवसायीको कमजोरी नभई बाह्य कारणले सिर्जित भएको भन्दै म्याद थपको आवश्यकतामा जोड दिएका छन् ।
प्रवक्ता शाहीले विगतमा म्याद थपका लागि निर्माण व्यवसायीको कार्यसम्पादन वा व्यवस्थापकीय कमजोरी मुख्य कारण हुने गरे पनि अहिलेको अवस्था फरक रहेको बताएका छन् ।
उनले भने, ‘अहिलेको समस्या निर्माण व्यवसायीको लापरबाही वा क्षमतासँग जोडिएको छैन । हर्मुज जलडमरु क्षेत्रको द्वन्द्व, अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलामा आएको अवरोध, निर्माण सामग्रीको अभाव र अस्वाभाविक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र प्रत्यक्ष प्रभावित भएको छ ।’
उनले यी समस्या व्यवसायीको नियन्त्रणभन्दा बाहिर रहेको उल्लेख गर्दै काम गर्न चाहँदाचाहँदै पनि सामग्री र उपकरणको अभावमा कामले गति लिन नसकेको स्पष्ट पारेका छन् ।
विकास निर्माणका काम समयमै सम्पन्न हुनु राज्य र व्यवसायी दुवैको साझा हितको विषय भएको भन्दै उनले विश्वव्यापी सङ्कटका कारण प्रभावित आयोजनाहरूलाई पुरानै कार्यतालिकाभित्र बाँधेर काम सम्पन्न गर्न दबाब दिनु अव्यवहारिक हुने जिकिर गरेका छन् । ‘असहज परिस्थितिलाई मध्यनजर गर्दै प्रभावित आयोजनाहरूको संशोधित कार्यतालिकाका आधारमा म्याद थप गरिनु आजको आवश्यकता हो,’ प्रवक्ता शाहीले भने ।
अर्थ चाैतारी ।