काठमाण्डौ । वर्ष २०८१ सेयरबजारका लागि सुखद वर्ष नै रहन पुग्यो। नेप्सेले बजारमा लगानीकर्ताको अपेक्षाअनुसार उचाइ नलिए पनि बजारले लगानीकर्तालाई वर्षभर नै आशा भने जगाइरहन सफल बन्यो। २०८१ वैशाख २ गते २०२८ अंकमा रहेको नेप्सेले अन्तिम कारोबार दिनमा आइतबार २६६२.०८ अंकमा आइपुेको छ।
समग्रमा वर्ष दिनमा नेप्से सूचक ६३४ अंकले बढेको छ। यद्यपि यो १२ महिनामा नेप्सेले अधिकतम विन्दु ३०४६ अंकमा पुगेर फर्किए पनि २४ सयभन्दा तल गएन। यो वर्ष २४४२ अंक वर्षभरिको सपोर्ट विन्दु बन्न पुग्यो। २ हजारबाट उकालो लागेको नेप्सेले असोज ९ गते तल्लो विन्दु (२४४२) अंक छोएको थियो। त्यसयता सोही विन्दुमा नपुगेको नेप्सेले अधिकतम विन्दु ३०४६ लाई नै बनायो।
औसत २६ सयकै विन्दुमा फन्को
वर्ष २०८१ मा नेप्से सूचक औसतमा २६ सयकै वरपर घुमिरह्यो। वर्षको सुरुवात दिन नै राताम्मे बनेको बजारले त्यसपछिका समय भने उही अंकमा रुमलिनु परेन। वैशाखमा न्यूनतम २०२७ अंकमा रहेको नेप्से त्यसपछिका महिनाहरुमा २६ सयकै वरपर घुमिरह्यो।
वैशाखमा अधिकतम २०४२ अंकमा रहेको नेप्से जेठमा २१३६ अंकसम्म बढ्न पुग्यो। जेठमा सेयरबजारमैत्री बजेट आउने आशामा लगानीकर्ताले बजारमा सकारात्मक माहोल बनाएका थिए। यद्यपि बजेटले बजार सिधा प्रभाव पार्ने नीतिमा कुनै फेरदबल गरेन। जसले गर्दा यो महिनामा सूचक २१३६ अंकमा उक्लिए पनि अन्ततिर २ हजारमै आइपुगेको थियो।
असारमा भने बजार बुलिस बन्न पुग्यो। जेठ अन्ततिर २ हजार ९० मा रहेको नेप्सेले असारमा भने २३१४ अंकसम्मको छलाङ मार्न पुग्यो। साउनमा मौद्रिक नीतिले पनि बजारलाई बढाउन सहयोग मिल्यो। साउन १९ गते राष्ट्र बैंकले वर्ष २०८१ का लागि ल्याएको मौद्रिक नीतिले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागततर्फ लाग्दै आएको २० करोडको सीमा खारेज भएपछि त्यसले बजारमा सकारात्मक माहोल सिर्जना गर्यो।
कारोबारमा नयाँ रेकर्ड
लगानीकर्ताले रुचाएका व्यक्ति विष्णु पौडेल अर्थमन्त्रीको रुपमा आए। यसले पनि असार अन्ततिर र साउन महिनाभर नेप्से सूचक बढाउन मद्दत गर्यो। साउनमा नेप्से सूचक अधिकतम ३ हजारमा पुगेको थियो भने भदौमा २०१८ अंकसम्म नेप्से पुगेको थियो।
यो नै वर्षभरको अधिकतम विन्दु रहन पुग्यो। साउन र भदौमा नेप्से बुलिसमा देखिँदा लगानीकर्ताले कारोबारमा नयाँ रेकर्ड कायम गरे। साउनमा लगानीकर्ताले २९ अर्ब ९५ करोडको कारोबार गरेका थिए। वर्षभर सूचक र कारोबारमा नयाँ रेकर्ड कायम गर्ने महिनाको रुपमा पनि साउन महिना महत्वपूर्ण रहन पुग्यो। यसपछिका महिनाहरुमा भने बजारमा सामान्य उतारचढाव देखिए पनि ठूला चहलपहल भने खासै देखिएन।
भदौमा ३ हजार माथि पुगेको नेप्से भदौ महिनाभर बियरिस करेक्सनमा रहन पुग्यो। यसको असर असोज महिनामा पनि देखियो। असोजमा न्यूनतम २४४२ अंकमा पुगेर नेप्से फर्कियो। सोही अंक वर्षभरिको बलियो सपोर्ट विन्दु पनि बन्न पुग्यो। त्यसयताका महिनाहरुमा भने बजारले फेरि २४ सयको यात्रा गर्न परेन। त्यसपछिका महिनाहरु कात्तिकमा अधिकतम सूचक २७६० पुगेको नेप्से मंसिरमा २९९७, पुसमा २६८५, माघमा २७२८, फागुनमा २९०० र चैतमा २७०७ अंकसम्म पुग्न सफल बन्यो।
मौद्रिक नीतिको टेवा
सेयरबजारमा मुख्य प्रभाव अर्थतन्त्रका सूचकहरुले पार्छन् भने त्यसपछिको प्रभाव नीतिगत व्यवस्थाहरुले गर्ने गर्छन्। राजनीतिक अस्थिरता व्याप्त बनेको नेपालमा भने राजनीतिक घटनाक्रमसँगै राजनीतिज्ञहरुको बोलीले पनि कहिलेकाहीँ बजारलाई प्रभाव पार्दै आएको पाइन्छ। यो हिसाबले वर्ष २०८१ सामान्य नै रहनपुग्यो। राष्ट्र बैंकले लचक मौद्रिक नीतिले बजारलाई सहयोग नै गर्यो भने वर्षभर लगानीकर्ताले रुचाएका व्यक्ति नै अर्थमन्त्री रहन पुगे। मार्जिन प्रकृतिको कर्जामा सीमा लगाएको भनेर तत्कालीन गभर्नर महाप्रसाद अधिकारीसँग रिसाएका लगानीकर्ता उनैले सो सीमा खारेज गरेपछि बेखुस पनि रहन परेन।
जाँदाजाँदै अधिकारीले सेयर धितोकर्जाको सीमा खारेज मात्रै गरेनन्, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रका लागि लचिलो मौद्रिक नीति पनि लिए। यसले बजारलाई घट्न दिएन। यद्यपि बजारमा लगानीकर्ताको मनोविज्ञान बढाउन ठूला घटनाक्रम विकास भएनन्। यसले वर्षभर छोटो प्रतिफल लिने कारोबारी लगानीकर्ताहरु हाबी भइरहे भने दीर्घकालीन लगानीकर्ताहरु सुस्त नै देखिए। अर्थमन्त्रीमा पौडेल आउने भन्ने समाचारले उचालेको नेप्सेले उचालिने थप बलियो आधार नपाँउदा नयाँ रेकर्ड बनाउने अवसर नजिक पुगेर फर्किन पुग्यो। त्यसयता सामान्य उतारचढाव देखिए पनि बजारको गति नै बदल्ने अवस्था देखिएन।
फागुन महिनामा भने बजार ‘बाउन्स ब्याक’ हुन पुग्यो। यो महिना नेप्से सूचकले २९ सय अंकको यात्रा गरेको थियो। वैशाखदेखि चैत महिनासम्म आइपुग्दा अर्थतन्त्रको सूचकहरु पनि सुधारोन्मुख रहन पुगे भने ब्याजदर घटेर एकल अंकमा आइपुग्यो। यसले बजारलाई सकारात्मक प्रभाव पार्दा नेपाल सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा दर्ज भयो। यसले बजारलाई नकारात्मक प्रभाव पार्यो भने वासलात बिग्रिँदा लाभांशमा सूचीकृत वाणिज्य बैंकहरु कमजोर देखिए। बजारलाई नेतृत्व गर्ने क्षमता भएका वाणिज्य बैंकहरु कमजोर रुपमा प्रस्तुत हुँदा बजारमा त्यसको नकारात्मक प्रभाव देखियो।
सकारात्मक माहोल
गत वर्षबाटै रोकिएका नयाँ आईपीओहरु वर्षको मध्यतिर आउन थाले। नियामक निकाय नेपाल धितोपत्र बोर्डले करिब एक वर्षपछि अध्यक्षको रुपमा सन्तोष नारायण श्रेष्ठलाई पायो। प्रिमियम मूल्य र नेटवर्थ कम भएकाबाहेकका कम्पनीहरुले वर्षको मध्यतिरबाट आईपीओ निष्काशनको अनुमति पाए। यसले पनि सुस्ताएका लगानीकर्तालाई बजारप्रतिको सक्रियता बढाउन मद्दत गर्यो। अन्त्यतिर आइपुग्दा बजार सञ्चालन गर्ने नेप्सेले पनि नयाँ नेतृत्व पायो। नेपाल स्टक एक्स्चेन्जको सीईओमा चूडामणि चापागाईं आए भने अन्त्यतिरै भए पनि बजारमा हुने चलखेललाई नियन्त्रण गर्न नेप्सेले नयाँ व्यवस्था कार्यान्वयनमा ल्यायो।
अन्तिम समयमा मूल्यमा हुने चलखेल रोक्न नेप्सेले अन्तिम मूल्य गणना विधिलाई फेरबदल गर्यो। यसले पनि बजारलाई सकारात्मक माहोल सिर्जना गर्न मद्दत पुर्याएको हो। वर्ष ०८१ मा ठूलो उतारचढाव नझेलेको सेयरबजार समग्रमा औसत नै रहन पुग्यो। कारोबारमा ऐतिहासिक छलाङ मारे पनि सूचक भने २६ सयकै वरपर वर्षभर घुमिरहँदा बजारले नयाँ रेकर्ड भने कायम गर्न सकेन।
अर्थ चाैतारी ।